Breaking News
चितवनमा कोरोना संक्रमणबाट आज दुई जनाको मृत्यु, ११७ संक्रमित थपिए, २१९ बिरामी अस्पतालमा

चितवन, असार २२-
चितवनमा आज दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवनमा आज मृत्यु भएका दुई जना दुवै चितवन बाहिर जिल्लाका हुन् । उनीहरुको भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
विगत २४ घण्टामा चितवनको विभिन्न अस्पतालबाट कोरोना संक्रमित १४ बिरामी डिस्चार्ज भएका छन् । त्यस्तै विभिन्न अस्पतालमा २१९ जना कोरोना संक्रमित बिरामीहरुले उपचार गराइरहेका छन् । जसमा आईसीयूमा ६६ जना, भेन्टिलेटरमा १७ जना, एचडीयूमा ४३ जना र जेनरल बेडमा ११० जना रहेका छन् ।
चितवनमा आज ११७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ९२ जना, खैरहनी नगरपालिकामा २ जना, माडी नगरपालिकामा ६ जना, रत्ननगरमा ७ जना, राप्तीमा ४ जना रहेका छन् ।
योसँगै चितवनमा संक्रिय संक्रमितको संख्या एक हजार २७१ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा एक हजार १२९ जना, अस्पताल आइसोलेसनमा १०९ जना र सार्वजनिक आइसोलेसनमा ३३ जना रहेका छन् । आजसम्म चितवनमा कोरोना संक्रमणबाट २८७ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
























