Breaking News
चितवनमा प्रहरीलाई छक्याएर विद्यार्थीहरुले निकाले राँके जुलुस
चितवन, असार १९–
विपक्षी गठबन्धनसंग आवद्ध विद्यार्थीहरुको संयुक्त गठबन्धनले आज चितवनको नारायणगढमा राँके जुलुस निकालेको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध नाराबाजी गर्दै विद्यार्थीहरुले राँके जुलुस निकालेका हुन् ।
उनीहरुले आज प्रहरीलाई समेत छक्याएर राँके जुलुस निकाल्न सफल भए । केहीदिन अघि विद्यार्थीहरु र प्रहरबीच वीरेन्द्र क्याम्पस गेटअगाडि झडप समेत भएको थियो । आज विद्यार्थीहरुले नेपाली काँग्रेसको कार्यालय कमलनगरबाट विद्यार्थीहरुले राँको बालेर पुलचोकसम्म पुगेका थिए । विद्याथीहरुले बालेको राँके निभाउन प्रहरीलाई हम्मे हम्मे परेको । आज केहीदिन अघि निस्किएको जुलुसको तुलनामा धेरै विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
जुलुसपछि आयोजित कोणसभामा बोल्दै नेपाल विद्यार्थी संघ चितवनका सभापति सूर्य ढकालले ओली सरकारको कारण विद्यार्थीहरु कोरोना माहामारीको बेलामा पनि सडक आन्दोलन गर्न बाध्य भएको बताए । उनले प्रधानमन्त्री ओलीले राजीनामा नदिएसम्म आन्दोलनलाई अझै शसक्त बनाएर लैजाने बताए ।
यस्तै अखिल (क्रान्तिकारी) चितवनका संयोजक अविनाश रम्तेल र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष अनुज जोशीले प्रधानमन्त्री ओलीलाई घुँडा टेकाएरै छोड्ने चेतावनी दिए । उनीहरुले तत्काल प्रधानमन्त्री ओलीलाई राजीनामा दिन माग गर्दै संसद पुर्नस्थापना पश्चात देश सहज ढंगमा जाने बताएका थिए ।
विद्यार्थीहरुले केहीदिन देखि निरन्तर सरकारविरुद्ध देशभर प्रदर्शन गरिरहेका छन् ।