Breaking News
चितवनमा आजदेखि हुने भनिएका उडान निरन्तरको बर्षाले अवरुद्ध

चितवन,असार १७ –
दुई महिनादेखि बन्द अवस्थामा रहेको भरतपुर विमानस्थलले गर्ने भनेको उडान निरन्तरको बर्षाले अवरुद्ध भएको छ ।
कोरोना संक्रमणका कारण निषेधाज्ञासँगै बन्द भएका यहाँको उडान पुनः आजबाट सुरु गर्न लागे पनि खराब मौसमका कारणले अवरुद्ध भएको हो । विमानस्थल प्रमुख योगेन्द्र कुँवरले कोभिड नियन्त्रणको सुरक्षा मापदण्ड कार्यविधिअनुसार विमानस्थलमा उडान सुरु गर्न लागिएको जानकारी दिएका थिए । स्थानीय प्रशासनले गत वैशाख १६ गते रातिदेखि चितवनमा निषेधाज्ञा जारी गरेसँगै उडान बन्द भएको थियो ।
उनले मास्क, भाइजर, सामाजिक दूरी कायम गर्नुपर्ने, डिस इन्फेक्सन गरेर मात्रै उडान गर्नुपर्ने जानकारी दिए । बुद्ध एयर भरतपुरका प्रबन्धक भक्त बस्नेतले आजदेखि सुरु गर्न लागिएको तीन उडान बर्षाले अवरुद्ध भएको नारायणी अनलाइनलाई जानकारी दिए । आज भरतपुर–काठमाडौँको लागि ११ः ३०, १ः४० र ३ः ५० मा उडान तय भएको उनले बताए ।
दैनिक छ वटासम्म चितवन–काठमाडौँ उडान हुँदै आएकामा अहिले तीन मात्र उडान तय गरिएको उनले बताए । उनका अनुसार स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरी उडान गरिने छ ।
























