Breaking News

दुई दशकदेखि अजिंगरको उद्धारमा खटिँदै चितवनका पाठक, लठ्ठीकै सहारामा १०० बढी समाते

Banner

चितवन, असार १६-

अजिंगरको नाम सुन्दा मात्रै पनि धेरैको सात्तो जान्छ । यसले मृग र बाख्रा जस्ता जनावर सिंगै निल्न सक्छ भनेर विज्ञहरु भन्ने गर्छन् । तर, चितवनका कृष्णहरि पाठक निकै बहादुरीका साथ लठ्ठीको सहारामा हातले समातेरै यसलाई नियन्त्रणमा लिन थालेको झण्डै दुई दशक भयो । उनले यसबारे कुनै औपचारिक शिक्षा लिएका छन् नत कुनै तालिम नै हासिल गरेका छन् । निःशुल्करुपमा घर तथा खेतबारीमा आएका अजिंगरहरुको निर्धक्क उद्धार गरी निकुञ्जमा बुझाउने गरेका छन् ।

राप्ती नगरपालिका–६ डिल्ली पर्साका ५० वर्षीय पाठक कुनै जागिरे पनि होइनन् । लोपोन्मुख वन्युजन्तु अजिंगरको मायाले यो काममा खटिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ म दुई दशकदेखि अजिंगरको उद्धारमा खटिएको छु । विभिन्न ठाउँबाट मानिसहरुले अजिंगरसँग डराउँदै फोन गर्छन् । म उद्धार गर्छु । मैले यो काम गर्दा कसैबाट कुनै शुल्क लिएको छैन । लोपोन्मुख प्रजातिको संरक्षणमा खट्ने उद्देश्यले नै हो ।’ उनले यो काम गरे बापत कतैबाट कुनै सहयोग या सम्मान नपाएको पनि बताए ।

पाठकले आजसम्म १०० बढी अजिंगरको उद्धार गरिसकेका छन् । उद्धार गरेका अजिंगरलाई निकुञ्को पूर्वचितवनमा रहेको खगेन्द्र मल्ली पोष्टलाई हस्तान्तरण गर्ने गरेका छन् । उनले आजसम्म दुई केजीदेखि २० केजीसम्मको अजिंगरको उद्धार गरिसकेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ मैले दुई लठ्ठीको सहाराबाट अजिंगरको उद्धार गरी सुरक्षित ढंगबाट बोरामा हालेर सेनाको पोष्टमा पु¥याउँछु । उनीहरुले निकुञ्जमा छाडिदिन्छन् । ’ सामान्य किसान परिवारका पाठक अजिंगरको उद्धारमा आत्मसन्तुष्टि मिलेको बताउँछन् ।

के हो अजिंगर ?

अजिंगर सरीसृप वर्गमा पर्ने सर्पको एक प्रजाति हो । यिनीहरू मुख्यतः अफ्रिका, एसिया तथा अस्ट्रेलियामा पाइन्छन् । अजिंगर ठूलो सर्प हो । यो प्रायः घना वनजंगलमा बस्छ । यो रुखको ठूलाठूला मुडामा र सुकेको पातहरूमा लुकेर बस्छ । यो कहिलेकाहीँ नदी र ठूला पोखरीहरुका आसपासका घाँसे मैदानमा पनि बस्छ । यसको टाउको फराकिलो हुन्छ । यसका आँखाहरु साना हुन्छन् । आँखाको नानी पहेँलो हुन्छ । यसको शरीर सेतो र छिरबिरे रंगको हुन्छ । यसको लम्बाइ करिब सात मिटर हुन्छ । यसको ओजन अन्दाजी ९० केजीसम्म हुन्छ । संसारमा पाइने विभिन्न सर्पहरुमध्ये यो सबैभन्दा ठूलो सर्प हो तर यो बिसालु हुँदैन । यसले बाख्रा र मृगका पाठाहरु पूरै निल्न सक्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>