Breaking News
धमाधम अनुदानमा ट्याक्टर बाड्दै भरतपुर महानगर, सात कृषि फर्मले पाए ट्याक्टर

चितवन, असार १४-
भरतपुर महानगरले नगर भित्र कृषिको क्षेत्रमा आधुनिकीकरण र यान्त्रिकरण गर्दै अगाडि बढ्ने योजनाका साथ कृषकलाई धमाधम कृषि उपकरण ट्याक्टर वितरण गरेको छ ।
महानगरले किसानलाई ५० प्रतिशत अनुदानमा आज ५० हर्स पावरको ६ वटा ट्याक्टर र एक वटा हाते ट्याक्टर वितरण गरेको हो ।
भरतपुर महानगरपालिका परिसरमा प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरीले ट्याक्टर किसानलाई हस्तान्तरण गरेका छन् ।
कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखाले धान रोप्ने अत्याधुनिक मेशिन (राइस टान्सप्लान्टर ) देखि कृषकको सामान ओसारपसार र कृषि कर्मका लागि ट्याक्टरसमेत किसानलाई वितरण गरेको छ ।
महानगरबाट वितरण गरिएको ट्याक्टर, कैलास कृषि विकास कृषक समूह भरतपुर–५, बिमल एग्रो फर्म एण्ड रिर्सच सेन्टर भरतपुर–६, कमलपोखरी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था भरतपुर–२२, अमृत किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भरतपुर–२५, हिम शिखर कृषि सहकारी संस्था भरतपुर महानगर–२६, उन्नत बिज वृद्धि कृषक समूह भरतपुर–१४ ले पाएको हो । त्यस्तै रिजन कृषि तथा पशुपंक्षी फर्म भरतपुर–१८ ले हाते ट्याक्टर प्राप्त गरेको छ । ट्याक्टरमा, हाइरो, कल्टिभेटर र रोटाभेटर समेत रहेको छ ।
प्रति ट्याक्टर १६ लाख ५२ हजार लागत मूल्य रहेको र महानगरले प्रति ट्याक्टर ८ लाख अनुदान दिएको महानगरका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले बताए ।
महानगरमा परेको ४३ वटा आवेदनबाट छनोट गरेर १३ वटा फर्मलाई माग अनुसारको उपकरणमा महानगरले ५० प्रतिशत अनुदान दिएको पौडेलको भनाइ छ । आज सात फर्मलाई ट्रयाक्टर हस्तान्तरण गरिएको यसअघि आइतबार एक फर्मलाई धान रोप्ने उच्च प्रविधिको मेसिन हस्तान्तरण भएको र अब पाँच वटा फर्मलाई केही दिनमै वितरण गरिने पौडेलको भनाइ छ । उनका अनुसार चार वटा बीउ प्रशोधन मेसिन र एउटा ईलेक्ट्रिक ड्राएर मेसिन अब हस्तान्तरण गर्न बाँकी रहेको र २५÷२६ गते भित्र ती मेसिन आइसक्ने र किसानलाई वितरण गरिने उनको भनाइ छ ।
खाडिमा श्रम खेर नफालौं : महानगर प्रमुख दाहाल
भरतपुर महानगर प्रमुख रेनु दाहालले महानगरपालिले कृषिलाई एकदमै प्राथमिकतामा राखेर अगाडि बढेको बताइन् ।
कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरण र आधुनिकीकरणमा जोड दिएको बताउँदै दाहालले कृषिमा लागत घटाएर उत्पादन बढाउन आफूहरु निरन्तर खटिरहेको बताइन् । कुवेत, इराकलगायत तेस्रो मुलुकमा गएर सस्तो मूल्यमा श्रम बेच्ने युवालाई यही स्वरोजगार बनाएर कृषि कर्ममा सरिक बनाउन महानगर निरन्तर लाग्ने र हरेक कृषकको साथमा महानगर रहेको दाहालको भनाइ छ ।
चितवनमा पशुपालनमा पनि उच्च सम्भावना रहेकाले यो क्षेत्रमा लाग्ने किसानलाई हौसला प्रदान गर्न दूधमा प्रतिलिटर ३ रुपैँया अनुदान दिन थालिएको पनि दाहालको भनाइ छ । कृषि पेसामा अगाडि बढ्न यो कार्यक्रमले किसानलाई उत्प्रेरणा दिएको बताउँदै दाहालले सिचाइँका लागि बोरिङ निर्माणमा पनि महानगरले काम गरिरहेको बताइन् । आगामी दिनमा यस्ता कार्यक्रमलाई महानगरले थप गर्दै लाने उनको भनाइ छ ।
सोही कार्यक्रममा महानगर उपप्रमुख पार्वती शाह ठकुरीले किसानलाई कृषि पेसाबाटै सबल बनाउने उद्देश्यसहित कृषि उपकरण वितरण गरिएको बताइन् । कृषि प्रधान देशमा ९५ प्रतिशत कृषकहरु रहे पनि किसानहरु निराश बनेको र युवा पलायन हुने स्थिति आएकाले अब युवालाई यही कृषि कर्ममा सरिक बनाउन आफूहरु लागेको उनको तर्क छ । आगामी दिनमा बिदेशबाट फर्किएका युवालाई कृषि कर्ममा सरिक बनाउन पनि यो कार्यक्रमले सहयोग पुग्ने उनले बताइन् । आउने वर्षमा पनि कृषिका लागी प्रयाप्त बजेट विनियोजन गरिएको ठकुरीको भनाइ छ ।
बिमल एग्रो फार्म एण्ड रिसर्च सेन्टर भरतपुर ६ का सञ्चालक तिर्थ सुबेदीले भरतपुर महानगरले उच्च क्षमताको, बहु उपयोगी ट्याक्टर वितरण गरेर कृषकलाई धेरै गुन लगाएको बताए ।
























