चितवन विशेष
देवघाटका विपन्न भुजेल समुदायलाई खाद्यान्न सहयोग

चितवन, असार १४-
तनहुँको देवघाट गाउँपालिकाका विपन्न भुजेल समुदायलाई खाद्यान्न सहयोग भएको छ ।
देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापा मगरको विशेष पहलमा इन्ट¥याक्ट क्लब अफ वाल्मीकिको साझेदारीमा देवघाटको विभिन्न स्थानमा बसोबास गर्ने विपन्न वर्गका भुजेल समुदायलाई खाद्यान्न वितरण गरिएको हो ।
फिड द हङ्ग्री नेपालको आयोजना तथा हङकङमा रहेका नेपाली समुदायको आर्थिक सहयोगमा क्लबले देवघाटका भुजेल समुदायका २४० घरधुरीलाई राहतको रूपमा प्रतिपरिवार १५ केजी चामल, १ केजी नुन र १ केजी दाल वितरण गरेको छ ।
कोभिड १९ कोरोना भाइरसको कारण निषेधाज्ञामा दैनिक ज्यालादारी गरेर परिवार पाल्न बाध्य मजदूरहरुको लागि गरिएको चामल, दाल नुन तेललगायत खाद्यान्न सामग्री सहयोगले केही हदसम्म भए पनि समस्यामा परेका व्यक्तिलाई सहयोग पुग्ने फिड द हङ्ग्री नेपालका कोषाध्यक्ष प्रज्ज्वल न्यौपाने बताए ।
सो कार्यक्रममा देवघाट गाउँपालिका–४ नम्बर वडा सदस्य पशुपति तिवारी, समाजसेवी सावित्री पौडेल, प्रेमबहादुर गुरुङ र इन्ट¥याक्ट क्लब अफ वाल्मीकिका अध्यक्ष अमृत ढकाललगायतको उपस्थिति रहेको थियो ।
























