गण्डकी

देवघाटमा पानीको हाहाकार, परम्परागत ढुंगेधाराकै भर

Banner

देवघाट, असार १३-

तनहुँको देवघाट गाउँपालिका विकासको क्रममा धेरै अघि बढेता पनि कोभिड – १९ महामारीको समयमा शुद्ध पिउने पानीको अभावले धेरै दुः ख खेप्नु परेको जनगुनासो आएको छ । महामारीको पीडा सँगसँगै यहाँ अर्को समस्या पनि उत्पन्न भएको भनेर स्थानीय चिन्तित छन् ।

महामारीको समयमा बाहिर हिडडुल गर्न समेत डर लाग्ने अवस्थामा पनि असहज तरिकाले शुद्ध पिउने पानी लिनको लागि देवघाटको झलुङ्गे पुलमा रहेको पुरानो ढुंगेधारामा पानी भर्न जाने गरेका छन् ।

देवघाटका आम नागरिकहरूले आजभन्दा धेरै वर्ष पहिले देखि नै यस ढुंगेधाराको पानी खाँदै आइरहेका छन् । देवघाट पुलको मुखमा घर हुनेलाई त यस महामारीको समयमा पनि कुनै समस्या भएन तर देवपुर, सारूटोल, टाउनचोक वरिपरी र अन्य ठाउँका नागरिकहरूले सधैं डोकोमा बोकेर कसरी जीवन गुजार्ने भन्ने स्थानीयको चिन्ता रहेको छ । कोरोना महामारीको समय लगत्तै जताततै बाढीपहिरो जाने, पानीका मुहानहरू पुरिने, भएका पाइपहरू फुट्ने जस्ता समस्याले दिनानुदिन आफ्नै धारामा आउने पानी रोकिए पश्चात् वृद्धआमाहरू बढी चिन्तित देखिन थालेका छन् ।

आउदो वर्षहरूमा पनि यस्तै समस्य नदोहोरिउन भनेर देवघाट गाउँपालिका वडा न.५ पर्ने गणेश टोल विकास संस्था अन्तरगत पुलको मुखमा रहेको ढुंगेधारालाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर वडा नम्बर ५ का वडाध्यक्ष यालबहादुर गुरूङको सक्रियतामा स्थानीयको भेला गराइ विभिन्न प्रस्तावमाथि छलफल गर्दै निर्णय गरिएको सोही टोलका नागरिक अमृत घिमिरेले नारायणी अनलाइनलाई जानकारी दिए ।

विगत लगभग ४० वर्ष भन्दा पहिलेदेखि दिनरात निरन्तर बगिरहेको पानीलाई व्यवस्थित गरेर ५०० घरधुरीलाई पुग्ने गरी शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले सात सदस्यीय समिति गठन गरिएको युवा नेता एवम् सोही टोलका नागरिक सान श्रेष्ठले बताए । अहिलेको यो समयमा पानीको जटिल समस्या रहेकोले एक बुँदे प्रस्ताव पेस गरेको श्रेष्ठले बताए ।

देवघाट गाउँपालिकाको नारा ‘एक घर एक धारा’ भन्ने मूल नारालाई आत्मासाथ गर्दै त्यसलाई साकार पार्न र देवघाटवासी हरेकको घरघरमा पानी पु¥याउनको लागि आफ्नो तर्फबाट सक्ने सहयोग सदैब गर्ने उनले प्रतिबद्धता गरेका छन् ।

देवघाट गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गुरूङले कार्यकाल चार वर्ष भइसक्दा पनि शुद्ध खानेपानीको राम्रो तरिकाले व्यवस्थित गर्न नसकेको बताउँदै आगामी आर्थिक वर्ष २०७८÷०७९ को गाउँपालिकाको नीति तथा कार्यक्रम पास भइसकेको र त्यसमा नसमेटिएका योजनाहरू वडाको योजनामा समेटेर कार्यलाई अघि बढाउने बताएका छन् ।
गुरूङले मानव जाति बाँच्नका लागि पहिला पानी अत्यावश्यक हुने भएकोले आगामी दिनमा पानीलाई पहिलो प्राथमिकता दिएर सम्बोधन गरिने बताएका छन् ।

ढुंगेधाराको स्रोत पनि देवघाटमा रहेका अधिकांश खानेपानी भन्दा राम्रो भएकोले त्यसलाई नै व्यवस्थित गर्न खोजिएको गुरूङको भनाइ थियोे । देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेलले शुद्ध पिउने पानी देवघाटवासीको लागि ढुंगेधारा अति उत्तम हुने भएकोले त्यसलाई नै व्यवस्थित गर्न जरुरी रहेको विचार राखे । उनले जिउनको लागि जलको सबैभन्दा ठूलो महत्व रहेकोले हुनाले पहिला पानीलाई प्राथमिकता दिएर अन्य क्षेत्र समेट्न स्थानीय सरकारलाई आग्रह गरे ।

पानीको क्षेत्रमा विश्वकै दोस्रो धनी देश नेपाल भए पनि स्रोत र साधनको परिचालनमा ध्यान नदिँदा यस्ता समस्यहरू उत्पन्न भएको सोही टोलका युवा विश्वनाथ मिश्रले बताए ।

देवघाटमा अहिले मात्रै हैन पहिले पनि यस्तै समस्याहरू आइरहन्थ्यो समाधान गर्ने स्रोतहरू भएता पनि त्यसको व्यवस्थित हुन नसकेको वडा नम्बर ५ का वडा सदस्य भोजराज नैनाबस्तीले बताए । उनले प्रकृतिले दिएको संरचनालाई बुझेर व्यवस्थापन गर्न सकियो भने भावी पुस्ताहरूले अहिलेको जस्तो समस्यासँग झेल्नु र भोग्नु नपर्ने बताएका थिए ।

यस्तै गणेश टोल एक व्यवसायी भुवनसिं गुरूङले युवाहरूले ल्याएको प्रस्तावको एकदम अति नै आवश्यक रहेको बताउँदै धन्यवाद प्रकट गरे । उनले त्यस धाराको पानीलाई व्यवस्थित गर्न सकियो भने देवघाटबासीलाई अन्तको पानी ल्याउनै नपर्ने बताउदैँ यसको व्यवस्थापन गर्न आफूले पनि सक्दो सहयोग गर्ने समेत बताए । यो वर्ष देवघाटबासीहरू पानीको कारण समस्यामा रहेको बताउँदै यही ढुंगेधाराको पानीलाई सदुपयोग गर्न सकियो भने पानीको समस्या समाधान गर्न सकिने उनले बताए ।

यसैबीच स्थानीय भवानीप्रसाद तिमिल्सिनाले देवघाटमा झन्डै २१ वर्ष पछि पानीको विषयमा छलफल भएको बताए । उनले आजभन्दा २१ वर्ष पहिले पनि यस पानीको विषयमा कुराकानी भएको बताउदै ढुंगेधारालाई नै आधार मानी व्यवस्थित गर्न सकियो भने देवघाटबासी पानीको हाहाकारमा जीवन गुजार्न नपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>