चितवन विशेष
नारायणगढ लेडी जेसीजको रजत जयन्ती असार १५ बाट

चितवन, असार १३-
नारायणगढ लेडी जेसीजले आज रजत जयन्तीका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतबार भर्चुअल पत्रकार सम्मेलन गर्दै २५ वर्षमा प्रवेश गरेको अवसर पारेर असार १५ गतेदेखि रजत जयन्तीका कार्यक्रम सुरु हुने जनाएको हो ।
रजत महोत्सवका मूल संयोजक तथा संरक्षक विश्व शान्ति पियाले भर्चुअलरुपमै कार्यक्रमको समुद्घाटन गरिने बताइन् । सन् १९९६ मा सम्पन्न २३ औँ राष्ट्रिय महाधिवेशनमा नारायणगढ जेसीजको मातृत्वमा नारायणगढ लेडी जेसीज स्थापना भएको थियो ।
रजत जयन्तीको अवसर पारेर ११ वटा कार्यक्रम गर्ने जनाइएको छ । महिलालाई लक्षित गरेर साइबर क्राइम विरुद्धको चेतनामूलक कार्यक्रम, लैंगिक हिंसा विरुद्धको कार्यक्रम, तालिम सञ्चालन हुनेछन् । यस्तै गरिब तथा विपन्न परिवार लक्षित राहत वितरण, भोजन खुवाउने कार्यक्रम हुनेछन् । यस्तै संस्थापक सदस्यहरुलाई र सामाजिक अभियन्ताहरुलाई सम्मान कार्यक्रम, दीप प्रज्वलनलगायतका कार्यक्रम गरिने जनाइएको छ । ‘केही कार्यक्रम भर्चुअलनै हुनेछन्, केही लकडाउन खुलेपछि हुनेछन्’, पियाले भनिन्, ‘पछि कोभिडको अवस्था समान्य भएमा हाम्रा कार्यक्रम भौतिक रुपमै हुनेछन् ।’
उनले कोभिड–१९ को संक्रमणको अवस्थालाई मध्यनजर गरेरै गते सहितको कार्यक्रम तालिका नबनाइएको बताइन् । अध्यक्ष सम्झना प्रधानले करिब एक महिनामा सबै कार्यक्रम समापन गर्ने लक्ष्य रहेको बताइन् । उनका अनुसार भर्चुअल गर्न नसकिने केही कार्यक्रमलाई सामाजिक तथा भौतिक दूरी कायम गरेर जनस्वास्थ्यका मापदण्ड पालना गरी सम्पन्न गर्ने योजना छ ।
सामाजिक सेवामा सक्रिय नारायणगढ लेडी जेसीज सन् २०१६ देखि आफ्नै भवनमा सञ्चालित छ । रजत महोत्सवका सहसंयोजक पूर्णिमा श्रेष्ठले रजत महोत्सवलाई जुम, गुगल मिट, म्यासेन्जर, भाइबारलगायतका माध्यमबाट अधिकांश कार्यक्रम हुने बताइन् । लकडाउनका बेलामा समेत यो जेसीज सामाजिक काममा सक्रिय बनेको छ ।
























