Breaking News
चितवनकी कवि सरिता तिवारी भन्छन्: माडी एउटै पनि जिउँदो मान्छे नभएको चिहानघारी हो

चितवन, असार १३-
चितवनकी कवि तथा लेखिका सरिता तिवारीले माडीमा भएको विभिन्न बेतिथिका घटनाले गर्दा माडी एउटै पनि जिउँदो मान्छे नभएको चिहानघारी भएको आरोप लगाएकी छन् ।
कवि तिवारीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै दुई बालिकालाई बलात्कारपछि हत्या घटनामा माडीका सरोकारवालाहरुले पीडितलाई साथ नदिएको भन्दै ‘चिहानघारीको’ सज्ञा दिएकी हुन् ।
कवि तिवारीले माडीमा दुई नाबालिकाको बलात्कारपछि हत्या हुँदा मेयर ढकालले पीडितको पक्षमा नबोलेको आरोप लगाएकी छन् । उनले माडीमा भएको नाबालिका दिपीका दिपशीला सुनारको हत्या प्रकरणमा त्यहाँका भएभरका पार्टी मिलेर आपसी सहमतिमा अभियुक्त भनिएका युवकहरु छुटाएको बताएकी छन् । उनले भनिन्, ‘राजनीतिक दबदबा यति चर्काे भयो कि दलहरुका महिला संगठनहरुको आन्दोलनरत संयुक्त संघर्षलाई पंगु नै बनाइदिनु भयो । पोस्टमार्टम रिपोर्टमा तिनको योनीबाट बगेको रगत ‘खबटे कीराले टोकेका कारण’ भन्ने जानकारी पाउने सौभाग्य पनि पाइयो । तिनलाई पोखरीमा डुबेर मरेका करार गराइयो । आज पीडित पक्ष सपरिवार गाउँबाट गायब छन् ।’
उनले सोही हत्या प्रकरणबाट आफ्नो मेयरसँगै ब्यक्तिगत सम्बन्ध बिग्रने क्रम सुरु भएको बताएकी छन् । उनले भनिन्, ‘दिपिका दीपशीला हत्या प्रकरणमा पीडितको साथ नदिएको ‘पाप’ उनले पनि बोक्नुपर्छ । तर बाँकी तपाइँहरु मध्ये कोही पानीमाथिको ओभानो नभए हुन्छ । सबका सब पीडक पक्षधर हुनुहुन्छ तपाइँहरु ! यो प्रकरणले सिद्ध गर्छ, माडी एउटै पनि जिउँदो मान्छे नभएको चिहानघारी हो । यसो भन्दा जिब्रो थुत्न आउनुहुन्छ भने स्वागत छ !’
तिवारीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै मेयर ढकालमाथि उनले सो चेतावनी दिएकी हुन् । उनले भनिन्, ‘बाले अरु जेजसो गरे पनि आर्थिक भ्रष्टचार वा तलबभत्ताबाहेकको अतिरिक्त कमाइ गरेका छन् भन्ने म पत्याउन्नँ । कथम् गरेका रहेछन् भने त्यस्तो रकम या कुनै ‘उपहार’को जिन्सी पुँजी या कुनै जमिन जेसुकै होस् त्यो जनतालाई जस्ताको तस्तै समर्पण गर्ने शर्तमा मात्रै हामी उनलाई ‘बुबा’ स्वीकार गर्ने छौं । अन्यथा उनले परिवारको माया र सद्भाव सदाका लागि गुमाउने छन् । यो कुरा मैले बुवालाई चुनाव जितेर विजय जुलुस गरेको साँझदेखि भन्दै आएकी छु ।’
उनले भनेकी छन्, ‘माडी नगरपालिकाका मेयरले गरेको अनियमितताबारे अनुसन्धान गरिएछ । यो अनुसन्धानमा सहयोग गरेर धेरै राम्रो गर्नुभो माडीका साथीहरु । यहाँहरु जोजो हुनुहुन्छ सबैलाई अनेक अनेक आभार । यस विषयमा खोजी पत्रकारिता गर्ने साथीलाई साँच्चै नै मनदेखि स्याबास ! ’
उनले मेयरले बेथिति निम्त्याए त्यसको भुक्तमान उनले भोग्नैपर्छ भनेकी छन् । उनले भनिन्, ‘प्राविधिक मात्रै होइन,नीतिगत नै त्रुटि गरिए । त्यसको मूल जवाफदेही पनि उनै हुनैपर्छ । किनभने उनले नचाहेको अवस्थामा तीमध्येका कुनै त्रुटि हुँदैनथे ।’
उनले माडी नगरपालिकामा धेरै नै बेतिथिहरु पहिलेदेखिनै भए पनि त्यसलाई अध्ययन नगरी माडी नगरपालिकालाई नमुना भन्ने प्रचार गरेर गल्ती भएको उल्लेख गरेकी छन् । कवि तिवारीले कार्यकालको सुरुमै ब्यक्तिगत रुपमा चुनौती नै दिएर मैले मेयरलाई एकाध त्रुटी सच्याउन भनेको बताएकी छन् । उनले मेयर केही सच्चिएको भए पनि पछिपछि मेयरका नजिक घुमेर शुभलाभ गर्ने कमरेडहरुकै शक्ति बलियो भएर अफ्नो बोलीको कुनै औचित्य नै नभएको बताएकी छन् । उनले भनेकी छन्, ‘लोभानी–पापानीका केकति हिस्सा पुग्दैनन् र यस्ता ‘तथ्य’ बाहिर आउँछन् अन्यथा ती भित्रै सडेर सकिन्छन् । यो पनि समयले अभिलेख राख्ला । नभए जाबो आम मान्छेलाई सिस्टमको सुरुङ्भित्र केके भइरहेको छ कहाँबाट थाहा हुनु ! सारा ‘थाहा’का सूची त कमरेडहरुसँगै हुन्छन् ।’ कवि तिवारीको मेयर ढकाल पारिवारिक नातामा आफ्नै ससुरा हुन् ।
























