Breaking News
क्यान्सर रोग अध्ययन संस्थान चितवनमा बनाउन माग गर्दै शिक्षा तथा स्वास्थ्य मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

चितवन, असार १२-
सरकारले ल्याएको ‘राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान’ चितवनमा हुनुपर्ने माग सहित शिक्षा तथा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको छ ।
वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र चितवनका जनप्रतिनिधिको टोलीले सो ज्ञापनपत्र बुझाएको हो ।
अस्पताल सञ्चालक समितिका सदस्य रामप्रसाद न्यौपानेका अनुसार मन्त्री श्रेष्ठ अध्ययन संस्थानको कार्यालय चितवनमै हुनुपर्नेमा प्रतिबद्ध छन् । मन्त्री श्रेष्ठले भरतपुर हुनुपर्नेमा भक्तपुर हुन गएको हो कि’ भन्ने आफूलाई लागेको उनले बताए । उनले भने, ‘यस सम्बन्धमा बुझेर प्रक्रिया अगाडि बढाउने मन्त्री श्रेष्ठको भनाइ थियो ।’
सो अवसरमा मन्त्री श्रेष्ठलाई बुझाइएको ज्ञापनपत्रमा चितवनमा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको इतिहास, साधनस्रोत, जनशक्ति, जग्गाको उपलब्धता लगायतको विषय प्रष्ट पारेर बुझाइएको छ । ज्ञापनपत्रमा भरतपुर सबै किसिमले केन्द्र भागमा रहेको र अस्पतालको ऐनमा अध्ययन, अनुसन्धान र उपचारलाई अघि बढाउने उल्लेख रहेको जनाइएको छ ।
टोलीमा क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा.निर्मल लामिछाने, एमाले नेताहरु काशीनाथ अधिकारी, कृष्णभक्त पोखरेल, पार्वती रावल, अस्पतालका निर्देशक डा.देजकुमार गौतम, उपनिर्देशक डा.कृष्णसागर शर्मा, सञ्चालक सदस्य, डा. कैलाश भण्डारी र न्यौपाने सहभागी थिए ।
सरकारले बजेट वक्तव्य मार्फत् क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने जनाएको छ । भक्तपुर क्यान्सर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई यस अध्ययनन संस्थान मातहत सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त घोषणा अनुसार भक्तपुरमा उक्त संस्थान रहने गरी प्रक्रियाा अगाडि बढाइएको छ । संस्थान भक्तपुरमा नभई भरतपुरमा रहनु पर्ने माग गर्दै जनप्रतिनिधिहरुको टोलीले मन्त्री श्रेष्ठलाई सो ज्ञापनपत्र बुझाएका हुन् ।
























