चितवन विशेष

सप्तगण्डकी क्याम्पसका विद्यार्थी सुरेन्द्रको जडीबुटी टिप्न जाँदा भीरबाट लडेर मृत्यु

Banner

चितवन, असार १०-

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा बीए पहिलो वर्षमा अध्ययनरत २४ वर्षीय सुरेन्द्र गुरुङको भीरबाट लडेर मृत्यु भएको छ ।

गत जेठ २६ गतेबाट परिवार र साथीहरुको समूहमा गोरखा र लमजुङको सिमानामा पर्ने बौद्ध हिमालतिर जंगली लसुन र विभिन्न जडीबुटी टिप्न जाँदा भीरबाट लडेर मृत्यु भएको हो । उनी गोरखा जिल्लाको विकट चुम्नुर्मी गाउँपालिका वडा नम्बर ३ सिर्दीबासको स्थायी बासिन्दा हुन् । गाउँबाट एसएलसी पास गरेका उनले सप्तगण्डकीबाट १२ कक्षा उतीर्ण गरी अहिले बीए ग्रामीण विकास अध्ययनरत थिए ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालका अनुसार जेठ २६ गते सुरेन्द्र गुरुङसहितको एक समूह गणेश हिमालमा जडीबुटी टिप्न गाउँभन्दा झण्डै हिडेर तीन दिन लाग्ने ठाउँमा पुगेका थिए । डीएसपी दाहालले नारायणी अनलाइनलाई भने, ‘ असार ६ गते उनीसँग गएको टोलीले उद्धारको लागि हेलिकप्टरलाई खबर गरी गाउँ फर्किए । उनीसँगै गएका बुबा र भाईलेले सुरेन्द्र बेपत्ता भएको भन्दै भीरबाट लडेको आशंका गरेका थिए । पछि लाप्राक गाउँबाट गएको टोलीले सुरेन्द्रको खोजी गर्दा ८ गते भीरबाट लडेर मृत्यु भएको अवस्थामा भेटियो । ’ डीएसपी दाहालले मृतकको लाश घटनास्थलबाट खैरेगज भन्ने ठाउँसम्म बोकेर गाउँलेहरुले ल्याएका छन् तर मौसम खराबीले गर्दा हेलिकप्टरबाट उद्धार हुन नसकेको बताए । उनले भने, ‘ सुलिकोट गाउँपालिकामा पर्ने सो क्षेत्रबाट शवलाई सिर्दिवाससम्म बोकेर ल्याउन सम्भव छैन ।’ पारिवारिक स्रोतका अनुसार पटकपटक दुई लाख ४० हजार खर्च गरेर शव गाउँमा ल्याउन हेलिकप्टर बोलाइएको भए पनि खराब मौसमले सम्भव भएको छैन ।

घटना सुन्दा निकै दुःख लागेको बताउँदै सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतोले स्वर्गीय गुरुङको घर परिवारलाई सम्पर्क गरी क्याम्पसमा श्रद्धाञ्जली कार्यक्रम राख्ने नारायणी अनलाइनलाई बताए । उनलाई पढाउने सप्तगण्डकी बहुमुखी क्याम्पसकी उपप्राध्यापक लक्ष्मी पोखरेलले निकै मेहनती, लगनशिल विद्यार्थी गुमाउनु पर्दा धेरै दुःख लागेको नारायणी अनलाइनलाई बताइन् । उनले भनिन्, ‘तीन वर्षसम्म कक्षा कोठामा पढाएको विद्यार्थीको झझल्को आइरहने रहेछ ।’ विपन्न परिवारका स्वर्गीय गुरुङको बुबा, आमा, भाई, बहिनी, श्रीमती र ११ महिनाको छोरी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>