Breaking News
चितवनमा निषेधाज्ञा खुकुलो बनाइँदै, आज हुँदैछ निर्णय

चितवन, असार ९–
चितवनमा निषेधाज्ञा खुकुलो हुने भएको छ । असार ११ गतेदेखि जिल्लामा निषेधाज्ञा खुकुलो बनाउने तयारी भएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले खुकुलो बनाएर निषेधाज्ञा थप गर्ने तयारी थालेको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले परिमार्जनसहित निषेधाज्ञा थप गर्ने तयारी भइरहेको जानकारी दिए । ‘जिल्लामा अझै पूर्ण रुपमा कोरोना नियन्त्रण त आएको छैन, विस्तारै घट्दो क्रममा भएकाले निषेधाज्ञामा केही परिमार्जन हुन्छ’–प्रजिअ लामिछानेले भने ।
प्रजिअ लामिछानेले मंगलबार पूर्वप्रधानमन्त्री एवंम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसंगको छलफलमा पनि निषेधाज्ञा परिमार्जन गरिने जानकारी गराएका थिए । निषेधाज्ञा खुकुलो बनाउने विषयमा आज जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ । सोही बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्नेछ ।
चितवनमा गत वैशाख १६ गतेराति १२ बजेदेखि निरन्तर निषेधाज्ञा हुँदै आइरहेको छ । पछिल्लोपटक असार २ गते निषेधाज्ञा थप गर्ने निर्णय गर्दै असार १० गतेसम्म लम्ब्याईएको थियो । जसमा वर्कसप, बैंक तथा वित्तिय संस्थालाई खुकुलो बनाईएको थियो ।
चितवनमा अहिले पनि दैनिक एक सयको हाराहारीमा संक्रमित थपिदै गएको छ । मंगलबार जिल्लामा ८९ जना संक्रमित थपिएका थिए भने एक जनाको मृत्यु भएको थियो । हालसम्म चितवनमा संक्रमितको संख्या १५ हजार ५५० पुगेको छ । जसमध्ये एक हजार २७७ जना संक्रमित मात्रै अहिले आइसोलेसनमा छन् । कोरोना संक्रमणबाट चितवनमा हालसम्म २७० जनाको मृत्यु भइसकेको छ ।
























