Breaking News
आइसोलेसनमा रहेका चितवनका समालोचक पोखरेल भन्छन्: कोरोना केही होइन भन्ने भ्रम त्यागौं

चितवन, असार ८-
झण्डै तीन दशकदेखि साहित्य लेखन र समालोचनामा सक्रिय चितवनका डीआर पोखरेल यतिबेला कोरोना संक्रमित भएर भरतपुर महानगरपालिका–१० को सिनर्जी एफएम नजिकै रहेको घरमा आइसोलेसनमा छन् । झण्डै दिनमा सात घण्टासम्म निरन्तर अध्ययनमा दैनिकी बिताउने उनी अहिले कोरोना संक्रमणले गाल्दा पढ्न लेख्न नै नसक्ने भएका छन् । ६७ वर्षीय पोखरेलले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै केही स्वास्थ्यमा सुधार भएको बताए । कोरोना महामारीको दोस्रो लहरबाट परिवारसँग अलग्गिएर एकान्तबास बसेका उनी कोरोना संक्रमणलाई सामान्यरुपमा नलिन सामाजिक सञ्जाल तथा फोनबाट नै सबैलाई शिक्षा दिइरहेका छन् ।
गत जेठ ३० गते समालोचक पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई सुरुमा खोकी, रुघा र ज्वरोले हैरान बनायो । स्वाद हराएन तर गन्ध भने केही थाहा पाएनन् । संक्रमण देखिएको १० औं दिनमा आज मात्र उनलाई केही सुधार भएको छ । उनले कोरोना संक्रमित हुँदाको अनुभव नारायणी अनलाइनलाई सुनाए, ‘घरको एक कोठामा आइसोलेसनमा बसेको छु । शरीरमा इम्युनिटी पावर निकै कमजोर हुने भएकोले पढ्न लेख्न केही नसकिने रहेछ । डाक्टर कृष्ण पौडेललाई फोन गरेर सल्लाह लिएर औषधि सेवन गरिहेको छु । कोरोना केही होइन भनेर हेलचक्र्याइ गर्नु त बेकार रहेछ ।’
पोखरेलले अक्सिजन परीक्षणको सानो उपकरण लिएर समय समय परीक्षण गरिरहन्छन् । उनले भने, ‘ खल्तीमा उपकरण राखेर अक्सिजनको तह परीक्षण गरिरहन्छु । ९२ को तहमा अक्सिजन पुगेपछि अलि डराउँछु ।’ उनले खानपानमा आइसोलेसनमा बस्दा ठूलो सावधानी अपनाए । खाजामा अण्डा र चनाको मात्रा बढाए भने असुरोको पातको पानी पकाएर नियमित बाफ लिन थाले । उनले भने, ‘ कोरोना संक्रमणको प्रभाव मानिसको शरीर अनुसार फरक फरक हुन्छ होला । असुराको पात उमालेर बाफ लिन्छु, पानीले निकै राम्रो गरेको छ । कागती पानी र विभिन्न जडीबुटीको पानी पनि नियमित सेवन गरिहेको छु ।’ विगत एक वर्षअघि देखि नियमित डायरी लेख्ने गरेका उनले अहिले डायरी लेख्ने शाहस गर्न सकेनन् । कोरोना सक्रमणबाट मुक्त भएपछि पक्कै कोरोनाको बारेमा केही लेख्ने सोच बनाएका छन् । उनले भने, ‘ आइसोलेसनमा बस्दा एक वर्षदेखि नियमित लेख्दै आएको सामाजिक अध्ययनमा निकै महत्वपूर्ण हुने डायरी लेख्न सकिन । गीतसंगीत सुन्ने काम गरिरहेको छु । सामाजिक सञ्जालमा जस्ता पनि समग्री आउने भएकोले सामाजिक सञ्जाल भने कम प्रयोग गर्न थालेको छु ।’
आफ्नो घरमा पर्याप्त ठाउँ भएकोले आइसोलेसनमा बस्न खासै समस्या नभए पनि थोरै कोठा र एउटा मात्र शौचालय भएका मानिसहरुलाई भने आइसोलेसनमा बस्न निकै कठिन हुने उनले अनुभव गरे । उनी भन्छन्, ‘ समयमा नै सर्तकता अपनाएर खानपानमा ध्यान दिएकोले मलाई अहिले केही सुधार हुँदै छ । तर, कोरोना केही होइन भनेर उपचार गर्न बेवास्ता गर्नेहरुलाई भने निकै पीडादायी हुने मेरो अनुभव छ ।’ उनले अझै पनि कोरोनाको खतरा नहटेकोले सबैले सावधानी र सतर्कता अपनाउन आइसोलेसनबाटै अनुरोध पनि गरेका छन् । उनले भने, ‘ कोरोना संक्रमण साच्ची नै पीडादायी हुने रहेछ । अरुका कुरा सुनेर भन्दा पनि आफूलाई नै परेपछि यसको जटिलताबारे जानकारी हुने रहेछ । ’
नियमित विपश्यनाको ध्यान गर्ने पोखरेलले ज्येष्ठ नागरिकको रुपमा कोभीड सिल्डको खोप पनि लगाएर अहिले दोस्रो डोजको पर्खाइमा रहेका छन् । उनी चितवनको पत्रकार महासंघको अग्रज सदस्य पनि हुन् तर महासंघले खोप लगाउँदा आफूलाई खबर नगरेको गुनासो गर्छन् ।
























