Breaking News

कोरोनाको मारमा वाग्मती प्रदेशका मिडिया, नीतिगत र कानुनी सुधारको आवश्यकता रहेको निष्कर्ष

Banner

चितवन, असार ७-

वाग्मती प्रदेशमा कोरोना महामारीको मारमा मिडिया क्षेत्र परेकोले यसको दिगोपनमा चुनौतीहरु थपिँदै गएको सरोकारवालाहरुले बताएका छन् ।

मिडिया एक्सन नेपालले आज गरेको वाग्मती प्रदेशस्तरीय‘मिडिया क्षेत्रमा कोभिड महामारीको प्रभाव र मिडिया दिगोपनको सवाल’ विषयक भर्चुअल छलफल कार्यक्रममा सरोकारवालाहरुले कोरोनाको मारमा मिडिया क्षेत्र परेको भए पनि कयौं नीतिगत र कानुनी झमेलाका कारणले महामारीबाट झुध्न कठिन भएको निष्कर्ष निकालेका हुन् । एकातिर मिडिया क्षेत्रमा गुणात्मक भन्दा संख्यात्मक विकास बढी देखिएको छ भने अर्काेतिर कयौं कानुनी तथा नीतिगत अस्पष्टताहरु रहेको सरोकारवालाहरुले बताएका छन् ।

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले सामान्यरुपमा रेडियो र टेलिभिजन बजिरहेको भन्दैमा असर नपरेको भन्न नसकिने भन्दै कोरोना प्रभावलाई कम गर्न संघीय सरकार र स्थानीय सरकारसँग समन्वय गरिरहेको बताए । प्रदेश सरकारले झण्डै एक हजार पत्रकारहरुको कोरोना बिमा गरेको र फेलोसिपबारे छलफल गरिरहेको उनले जानकारी दिए । मन्त्री पाण्डेले भने, ‘ लोककल्याणकारी विज्ञापनहरु बढाउने र समानुपातिक ढंगले वितरण गर्ने तयारी गरेका छौं । पत्रकारहरुलाई सहयोग गर्न सूचना केन्द्रको स्थापना गर्ने सोचमा रहेका छौं । ’ उनले निजी क्षेत्रका मिडियाले पाएको सेवा सुविधा कटौंती नहुने गरी सरकार र निजी क्षेत्रको सहकार्यमा सञ्चार गृहको स्थापना गर्ने लक्ष्य राखेको बताए । उनले भने, ‘ सरकारले मिडियालाई नियन्त्रण गर्ने र आफू खुसी चलाउने कुनै नीति छैन । हामी छलफल र अन्तरक्रियाबाट मिडिया चलाउने सोचमा छौं ।’ मन्त्री पाण्डेले सरकारको सहयोग पाइन भन्ने गुनासो नरहने गरी प्रदेश सरकाले काम गर्ने बताए । उनले मिडियामा वितरण हुने गलत र भ्रामक सूचनाको वितरणलाई रोक्न मिडियाकर्मी स्वयं सचेत हुनुपर्ने विचार राखे ।

नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धितालले सञ्चार माध्यम र विज्ञापन व्यवसाय दिगो नभई पत्रकारिता भरपर्दाे हुन नसक्ने बताए । उनले भने, ‘ विज्ञापन भनेको चन्दा हो भन्ने सोचमा परिवर्तन आउनुपर्छ । कोरोनाले उद्योगव्यवासाय क्षेत्रमा प्रभाव पारेकोले नेपालको विज्ञापन बजार ठूलो बन्न सकेको छैन । सञ्चार माध्यमको दिगो विकासमा नीतिगतरुपमा सरकार लाग्नुपर्छ ।’ उनले सरकार र केही ठूला व्यवसायीहरुले पत्रकारलाई खुसी पारे भइहाल्छ भन्ने सोचबाट यस क्षेत्रमा देखिएको समस्याहरुको समाधानमा खासै चासो नदिएको बताए । विज्ञापन बजार बढाउँदै सरकारले नेपाली सञ्चार माध्यमको सबलीकरणमा ध्यानदिनुपर्छ भन्दै अध्यक्ष धितालले नेपालमा बेचिने विदेशी ब्राण्डले आम्दानीको पाँच प्रतिशत लगानीको विज्ञापन नेपाली मिडियाले पाउनु गरी नीति बनाउनुपर्ने विचार राखे । उनले नेपाली आमसञ्चार माध्यमहरुले आफ्नो सामग्रीको स्तरियता र व्यवसायिकतामा पनि ध्यान दिन सुझाव दिए । अध्यक्ष धितालले भने, ‘ विज्ञापन एजेन्सीहरुको कारणले मिडियाहरु सञ्चालनमा असजिलो भएको छ भने हामी सच्याउन तयार छौं । यस क्षेत्रमा भएको अस्वस्थ प्रतिस्पर्धा रोक्नुपर्छ । सञ्चार माध्यमका देखिएको कमीकमजोरीमा पनि सुधार गर्नुपर्छ । मिडिया विज्ञापन दररेटमा पनि एकरुपता जरुरी रहेको छ ।’ उनले सबै सरोकारवालाहरुमा देखिएको कमी, कमजोरी सच्याएर अगाडि बढाएमा विज्ञापन बजार बढाएर १७ करोड बनाउन सकिने बताए । उनले सञ्चार माध्यम दिगो बन्न नसक्नुमा हाम्रो पनि दोष रहेको समीक्षा गरे ।

वाग्मती प्रदेशका सञ्चार रजिस्टार रेवती सापकोटाले आफूहरु साधनस्रोत उपलब्ध भएसम्म पत्रकारहरुलाई महामारीको यो समयमा स्वास्थ्य सामग्री, ज्याकेट, फेलोसिपहरु उपलब्ध गराउन लागिपरेको जानकारी दिए । उनले भने, ‘ पत्रकारहरुको हितको लागि स्थापना गर्ने भनिएको पत्रकार कल्याण कोषको खाता पनि खोल्न सकेको छैन । बिमा कम्पनीसँग कुरा गरेर ९४५ जति पत्रकारहरुको बिमा गरेका छौं । जसको रकम वाग्मती प्रदेश सरकारले उपलब्ध गराएको थियो ।’ उनले कोरोनाको दोस्रो लहरमा पीडित पत्रकारहरुलाई सहयोग गर्ने बारे छलफल गरेको भए पनि बजेट नभएको र मन्त्रालयबाट बजेट निकाल्न नसकेकोले काम अघि नबढेको बताए ।

मिडिया एक्सनका अध्यक्ष लक्ष्मणदत्त पन्तले महामारीको समयमा पत्रकारहरुलाई अग्रमोर्चामा खटिने पेसाकर्मीको रुपमा लिने गरिएको बताए । उनले भने, ‘ पत्रकारको कल्याणको लागि कर्पाेरेट मिडिया हाउसलाई बाध्य बनाउने काम गर्नुपर्छ । उनीहरुले मुनाफा कमाउँछन् । उनीहरुले जागिरको सुरक्षा, बिमा जस्ता विषयमा ठूला मिडियाले लगानी बढाउनुपर्छ, राज्यले होइन ।’ अध्यक्ष पन्तले विश्वका अन्य देशमा भएको अभ्यासलाई हेरेर मिडियालाई वर्गीकरण गर्दै राज्यको साधनस्रोतको प्रयोग कर्पाेरेट मिडिया हाउसलाई फाइदा पुग्ने गरी सरकारले लगानी गर्न नहुने बताए । गैरनाफामुखी र सामाजिक हितका लागि खुलेका मिडियाहरुमा भने सरकारी सहयोग बढी केन्द्रित हुनुपर्ने उनको विचार थियो । उनले वाग्मती प्रदेशमा सञ्चार रजिस्टारको स्थापना हुनु राम्रो भए पनि यसका कामकारबाही र सञ्चालनमा नीतिगत स्पष्टता जरुरी भएको विचार राखे ।

पत्रकार महासंघकी केन्द्रीय सचिव कोरोना महामारीले मिडिया क्षेत्र निकै नै प्रभावित रहेको भन्दै व्यवसायीलाई छुट दिएको सरकारले मिडियालाई कुनै छुट नदिएको बताइन् । उनले भनिन्, ‘ कोरोना कहरले सञ्चार माध्यम धरासायी बनेको छ । अन्य उद्योग धन्दा बन्द गरे पनि हुन्छ तर यो क्षेत्र झन् बढी कार्यक्षेत्रमा खटिनुपर्ने आवश्यकता छ ।’ उनले देशभर ९५९ जना पत्रकारहरु संक्रमित भएको र २० जनाले ज्यान गुमाइसकेको बताइन् । उनले प्रदेश सरकारले नयाँ सञ्चार गृह स्थापना भन्दा पनि भएकै सञ्चार गृहलाई टिकाउन लाग्नुपर्ने बताइन् । उनले होटल व्यवसायीको विद्युत् छुट गरेको सरकारले सञ्चार माध्यमलाई छुट नगरेको गुनासो पोखिन् ।

छलफलमा पत्रकार महासंघ वाग्मती प्रदेश कमिटीका अध्यक्ष शिव देवकोटाले वाग्मती प्रदेशका १० वटा जिल्लामा ७० भन्दा बढी पत्रकारहरु कोरोना संक्रमित भएको र दोलखाका एक जना पत्रकारले ज्यान गुमाएको बताए । उनले भने, ‘वाग्मती प्रदेशका १३ वटै जिल्लामा सबै पत्रकारहरुले खोप लगाएका छन् । आत्मबल बढेको छ । प्रेस रजिस्टार रेवती सापकोटासँग समन्वय गरेर अगाडि बढिरहेका छौं ।’ अध्यक्ष देवकोटाले स्वरोजगारको रुपमा सञ्चालन गरेका साना लगानीका मिडिया बन्द भएको भन्दै यस्तो जटिल अवस्थामा प्रदेश सरकार सहयोगी नभएको आरोप लगाए । उनले भने, ‘हाम्रो पहलले सार्थकता पाएन । बजेटले हाम्रो मागहरुले प्राथमिकता पाएको छैन । स्थानीय तहहरुले पनि विज्ञापन उपलब्ध गराउन एकरुपता अपनाएका छैनन् । सबैले समानुपातिकरुपमा विज्ञापन उपलब्ध गराए मिडियाको दिगोपनमा सहयोग पुग्छ ।’ अध्यक्ष देवकोटाले वाग्मती प्रदेश सरकारले आफैले १० करोड लगानी गरेर मिडिया चलाउन खोजेको भन्दै विरोध गरे ।

मिडिया एक्सनका कार्यसमिति सदस्य यमबहादुर दुराले वेभिनारमा स्वागत मन्तव्य राख्दै पारिश्रमिक नपाउने, पाए पनि आधा पाउने भन्ने जस्ता समस्याहरु देखिएको बताए । उनले भने, ‘ मिडियाहरुले विभिन्न कार्यक्रमहरु गरेर नागरिकको सूसूचित हुन पाउने अधिकारको संरक्षण गर्दै पत्रकारहरुको रोजीरोटीको पनि ग्यारेन्टी गर्नेतर्फ सबै सरोकारवालाहरुले समन्वयात्मक भूमिका खेल्नुपर्छ ।’

पत्रकार महासंघ चितवनकी उपाध्यक्ष प्रमिता ढकालले चितवनमा १० जना पत्रकारहरु संक्रमित भएको र कतिपयले रोजगारी गुमाउनु परेको विचार राखिन् । कोरोना माहामारीको कारणले धेरै पत्रिकाहरु सञ्चालन हुन नसकेको जानकारी दिइन् । उनले भनिन्, ‘ चितवनमा मिडियाहरुले जनशक्ति घटाएका छन् । बजार बन्द छ । मार्केटबाट पैसा उठाउन पनि सकिएको छैन ।’ उनले केही स्वास्थ्य सामग्रीबाहेक अन्य सामग्रीहरु उपलब्ध गराउन नसकेको बताइन् । उपाध्यक्ष ढकालले चितवनका स्थानीय तहबाट केही पनि सहयोग नपाएको भन्दै केही सहयोगको पहल गरे पनि धेरै जसो सकारात्मक नदेखिएको बताइन् । उनले चितवनमा सबै पत्रकारहरुलाई खोप लगाउन प्रेरित भने गरेको जानकारी दिइन् ।

छलफलमा सबै सरोकारवालाहरुले प्रदेशको मिडिया क्षेत्रलाई दिगो बनाउन सरोकारवाला निकायहरु सबैले समन्वयात्मकरुपमा भूमिका खेल्नुपर्ने बताएका थिए । मिडिया एक्सनका वाग्मती प्रदेश संयोजक मधुसूदन दवाडीले सहजीकरण गरेको यस छलफल कार्यक्रममा ४१ जनाको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>