चितवन विशेष

भरतपुरको गौरीगञ्ज स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री खरिद गर्न आर्थिक सहयोग

Banner

चितवन, असार ७-

कोभिड १९ ले विश्वनै आक्रान्त बनेको बेला स्वास्थ्य सामग्री खरिदका लागि भरतपुर स्वास्थ्य चौकी गौरीगञ्जलाई सहयोग रकम प्राप्त भएको छ ।

हेफर इन्टरनेशनल नेपालले गरेको सहयोग रकम सहकारी संस्थाले स्थानीय निकाय मार्फत सोही ठाउँमा रहेका स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर ८ मा रहेको बिसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडलाई एक लाख रुपैयाँ प्राप्त भएकोमा सो रकम आज भरतपुर महानगरपालिका वडा नम्बर ८ को समन्वयमा भरतपुर स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा एक लाख रुपैयाँको चेक महिला समूह समन्वय समितिकी निवर्तमान अध्यक्ष गोमा भट्टराईले बिसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष शैलजा घिमिरे पौडेललाई, पौडेलले भरतपुर महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष दामोदर न्यौपानेलाई तथा न्यौपानेले भरतपुर स्वास्थ्य चौकीकी इन्चार्ज इश्वरा तिवारीलाई प्रदान गरेका हुन् ।

हेफर इन्टरनेशनल नेपालबाट महिला समूह समन्वय समितिको खातामा ६१ लाख रुपैयाँ प्राप्त भएको र सो रकम चितवन जिल्लाभरका हेफर र महिला समन्वय समितिसँग आबद्ध विभिन्न सहकारी संस्थाको खातामा प्रदान गरिएको महिला समूह समन्वय समिति चितवनकी निवर्तमान अध्यक्ष गोमा भट्टराईले जानकारी दिइन् । सहकारी संस्थाहरुले आफ्नो खातामा आएको रकम महानगरपालिका, नगरपालिका र गाउँपालिकाका स्थानीय तहहरु मार्फत स्थानीय स्वास्थ्यचौकीहरुलाई हस्तान्तरण गर्ने पनि भट्टराईले बताए ।

हेफर इन्टरनेशनल र महिला समूह समन्वय समितिको प्रत्यक्ष सहभागिता रहेको सफल सामाजिक उद्यमी महिला सहकारी संस्थाको खाताबाट आफ्नो संस्थाको खातामा प्राप्त एक लाख रुपैयाँ सो स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको बिसहजारी सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष शैलजा घिमिरे पौडेलले जानकारी दिइन् । संस्थामा आबद्ध करिव ९०० सेवाग्राहीहरुले समेत प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा उपभोग गर्न पाउने अपेक्षा सहित सो रकम वडा कार्यालय मार्फत स्थानीय स्वास्थ्य चौकीलाई सहयोग गरिएको उनले बताइन् ।

महिलाको सहकारी संस्थाद्वारा महिला नै इन्चार्ज भएर सञ्चालित स्वास्थ्य संस्थालाई सहयोग प्राप्त भएकोमा निकै खुसी भएको भरतपुर स्वास्थ्य चौकीकी इन्चार्ज ईश्वरा तिवारीले बताइन् । प्राप्त रकमले कर्मचारीको बैठकले आवश्यक ठहर गरेका कोभिड १९ बिरुद्धका लागि स्वास्थ्य सामग्री खरिद समिति मार्फत खरिद गरिने पनि इन्चार्ज तिवारीले जानकारी दिइन् ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दामोदर न्यौपानेले सहकारी संस्थाले प्रदान गरेको रकम पारदर्शी ढंगबाट उपयोग हुनेमा आफू विश्वस्त रहेको बताए । सरकारले कोभिड १९ का लागि काम गर्दै आएको र अहिले विभिन्न संस्थाहरुले पनि हातेमालो गर्दै सहयोग उपलब्ध गराउन थालेकोमा खुसी लागेको न्यौपानेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>