गण्डकी
कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा देवघाटमा स्वास्थ्य सामग्री सहयोग

चितवन, असार ७-
पूर्वउपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देवघाट गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
नेता पौडेलले गाउँपालिकालाई आवश्यक अक्सिजन कन्सन्ट्रेटर, पीपीई, माक्स र सेनिटाइजरसहित स्वास्थ्य सामग्री सहयोग गरेको देवघाट गाउँपालिका सामाजिक सुरक्षा इकाइ प्रमुख दुर्गा रानाले जानकारी दिए।
वरिष्ठ नेता पौडेलले तनहुँ जिल्लाका १० वटै स्थानीय तहलाई १\१ थान अक्सिजन कन्सन्ट्रेटरको साथमा माक्स, पीपीई डिस्पोजल र ह्यान्ड सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरेको काग्रेस तनहुँले जनाएको छ । दातृ संस्थासँगको समन्वयमा करिब ३५ लाख रुपैयाँको सामग्री सहयोग गरिएको नेपाली कांग्रेस देवघाट सभापति प्रेमबहादुर गुरुङले जानकारी दिए ।
देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले कोभिड १९ कोरोना भाइरस रोकथाम नियन्त्रणको लागि नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे । विपत्को यस समयमा सबै एकजुट भएर सामना गर्नुपर्नेमा थापाले जोड दिए ।
कोरोनाको उदाहरण दिँदै थापाले भने,‘ पार्टी विशेष र ब्यक्ति विशेष भन्दा माथि उठेर सबै एकजुट भएर विपत्को सामना गर्नुपर्छ ।’ कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष विमला थापा, देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटा, समाजसेवी पूर्णबहादुर कुँवर, देवघाट गाउँपालिका प्रशासन शाखा प्रमुख गोविन्दप्रसाद पौडेल, देवघाट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदिपकुमार बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।
























