Breaking News
नारायणगढ बेलचोकका व्यवसायी कायस्थ दम्पतीको कोरोना संक्रमणबाट निधन

चितवन, असार ६-
चितवनमा फैलिएको कोरोना संक्रमणबाट नारायणगढ बेलचोकका एक व्यवसायी दम्पतीको ज्यान गएको छ ।
व्यवसायी भैरव कायस्थको शनिबार र उनकी श्रीमती विजया रेग्मी कायस्थको आज चितवन मेडिकल कलेजमा निधन भएको हो ।
भैरव र विजया दाना उद्योगको लागि आवश्यक सामग्रीको व्यापार गर्दथे । विजया चितवनमा कांग्रेस भातृ संगठन तरुण दलको राजनीतिमा पनि सक्रिय रहेकी थिइन् । बेलचोकमा कायस्थ दम्पतीको सँगै घर भएका चितवन चेम्बर्स अफ कमर्सका अध्यक्ष दिर्घमान श्रेष्ठले केही समय अघिसम्म फोनमा कुरा भइरहेका उनीहरु दुवै जनाको निधनले आफू निकै मर्माहत भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ उहाँहरु सामान्य टन्सिल भएको भन्दै बस्नु भएको थियो । सुरुमा पुष्पाञ्जली अस्पताल भर्ना भएर पछि चित्त नबुझेपछि चितवन मेडिकल कलेजमा उपचारको लागि जानु भएको थियो । एक दिन अघि हिजो श्रीमान र आज श्रीमतीको निधनले हामीलाई आश्चर्यमा पारेको छ ।’ श्रेष्ठले श्रीमान् भैरब लगभग ६५ वर्षको र श्रीमती विजया ४० वर्ष जतिको रहेको नारायणी अनलाइनलाई बताए ।
























