Breaking News

रत्ननगरको नीति तथा कार्यक्रमः किसान प्रोत्साहनका लागि ‘पेडा पसल’ खोल्नेदेखि खोप खरिदसम्म

Banner

ध्रुवराज खनाल

चितवन, असार ६-

चितवनको ठूलो नगरपालिका रत्ननगर नगरपालिकाले कृषकहरुको उत्थानका लागि पेडा पसल सञ्चालन गर्ने भएको छ ।

आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक नीति तथा कार्यक्रममा ‘नयाँ बाजेको पेडा पसल’ सञ्चालन गर्ने उल्लेख छ । दूधबाट पेडा, खुवालगायतका पदार्थ बनाइ बेचबिखन गर्न पशुपालक कृषक सदस्य भएको सहकारीसँग लागत साझेदारीमा पेडा पसल सञ्चालन गर्न प्रोत्साहन स्वरुप बजेट बिनियोजन गरिएको रत्ननगर नगरपालिका प्रमुख नारायण वनले नीति तथा कार्यक्रम प्रस्तुतिमा बताए ।

पेडाका लागि सर्लाहीको बरमझिया चर्चित मानिन्छ । दूधको विविधीकरण गरी कृषकहरुको आम्दानी बढाउने उद्देश्यले नगरपालिकाले नयाँ कार्यक्रम ल्याउन लागेको नगर प्रमुख वनले बताए । कोभिडका कारण दूध र दुग्धजन्य पदार्थ बेचबिखनमा समस्या देखिएकाले दूधबाट पाउडर दूध बनाउने कारखाना रत्ननगर–९ मा यस अगाडिनै व्यवस्था गरिएको जग्गामा स्थापना गर्न प्रदेश सरकारसँग अनुरोध गर्ने समेत नगरपालिकाले जनाएको छ ।

पशुपालक किसानलाई प्रोत्साहन तथा वैकल्पिक उर्जा प्रवद्र्धनका लागि गोबर ग्यास अनुदान कार्यक्रम सञ्चालन गरिनुका साथै व्यक्तिगत वा सामूहिकरुपमा ५० बढी गाइभैसी पालन गर्नेहरुलाई प्रोत्साहन गरिने नीति लिइएको नगर प्रमुख वनले जानकारी दिए ।

कोभिडविरुद्धको खोप सुनिश्चित गरी नगरवासी सबैमा खोप लगाइने नीति लिएको रत्ननगरले नेपाल सरकारबाट प्राप्त खोप अपुग भएमा नगरपालिका स्वयम्ले खरिद गरी खोप लगाउने व्यवस्था मिलाउने जनाएको छ । समयमै स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्दै नगरमा थप एक एक थान एम्बुलेन्स र शव बहानको व्यवस्था गरिने कार्यक्रम राखिएको छ । नगरका युवाहरुलाई उत्प्रेरित गरी सामाजिक तथा उद्यमशिलताको क्षेत्रमा आकर्षण गर्न हरेक वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पाँच जना युवाहलाई नगर आर्दश युवा पुरस्कार दिई सम्मान गरिने नगरपालिकाले जनाएको छ ।

पत्रकारिता क्षेत्रमा आवद्ध पत्रकारहरुको क्षमता अभिवृद्धि गर्दै पत्रकार आचारसंहिता,पत्रकारिताको महत्व र चुनौतीलगायतका विषयमा जानकारी गराउन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनुका साथै नगरका क्रियाशील पत्रकारलाई लजिस्टिक सर्पोट लगायत अन्य सहयोग गरी विकासका लागि सञ्चार भन्ने अभियानका साथ उपप्रमुखसँग सञ्चारकर्मी कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगर सभामा विषयगत समितिका संयोजकहरुबाट प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । न्यायिक समिति, राजश्व परामर्श समिति र अनुगमन समितिबाट संयोजक तथा नगर उपप्रमुख विमला दुवाडी, विधायन समितिबाट संयोजक तिलकराज शर्मा, पूर्वाधार विकास समितिबाट संयोजक हरिकुमार श्रेष्ठ, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिबाट संयोजक बलराम दाहाल, सामाजिक विकास समितिबाट संयोजक केशव आचार्य, आर्थिक विकास समितिबाट संयोजक गुप्तनाथ भट्टराई, लेखा समितिबाट संयोजक लालबहादुर भट्ट, सार्वजनिक सेवा तथा क्षमता विकास समितिबाट संयोजक चित्रबहादुर श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>