देश/प्रदेश
पत्रकारमाथि लाठी र बुट हान्दै धम्की दिने प्रहरीलाई कडा कारबाही गर्न महासंघको माग

काठमाडौं, असार ३ –
नेपाल पत्रकार महासंघले एसोसिएट संस्था नेपाल खेलकूद पत्रकार मञ्चका सदस्य तथा देश दैनिक डटकमका सम्पादक र प्रकाशक पारशविक्रम शाहमाथि प्रहरीले धम्की दिएकोमा विरोध जनाएको छ ।
समाचार संकलनका क्रममा प्रहरी सहायक निरीक्षक प्रतिभा सिंहले दुर्व्यवहार र कुटपिट गरेको घटनामा महासंघले विरोध गर्दै घटनाको गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
‘आज बिहान समाचार संकलनका क्रममा स्वयम्भू पुगेका पत्रकार शाहलाई प्रहरी सहायक निरीक्षक सिंहले सूचना विभागबाट जारी पत्रकार परिचयपत्र देखाउँदा देखाउँदै पनि ‘बिहान के रिपोर्टिङ, कस्तो रिपोर्टिङ’ भन्दै दुर्व्यवहार गर्दै कुटपिट गर्नुका साथै तत्पश्चात स्वयम्भू प्रहरी वृत्त लगेर थापा थरका प्रहरी जवानले लाठी र बुट हान्दै बन्दुक तेर्साएर ठीक पार्ने धम्की दिएको महासंघमा जानकारी प्राप्त भएको छ,’ महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पेशागत सुरक्षामाथि प्रहरीले ज्यादती गरेको महासंघले बताएको छ । पत्रकारमाथि प्रहरीबाट गरिएको यो हर्कत प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ पत्रकारको पेशागत स्वतन्त्रतामाथि आघात पुर्याउने र पत्रकार त्रसित बनाउने प्रहरीको यो ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ,’ महासचिव पुरीले भनेका छन्।
घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्दै पत्रकारलाई निर्वाध र सुरक्षित काम गर्ने वातावरण बनाउन महासंघले माग गरेको हो।

























