Breaking News

भरतपुरमा जर्मन प्रविधिमा आधारित दरबार खाद्य उद्योग स्थापना, २२ करोड लगानी

Banner

चितवन, जेठ ३१-

चितवनको मनकामना समूहले भरतपुर महानगरपालिका–४ लक्ष्मीपुरमा नयाँ खाद्य उद्योग स्थापना गरेको छ ।

यसअघि जस्मिन पेन्ट्स, जगदम्बा प्लास्टिक, टाटा मेटल एण्ड क्राफ्ट लगायतका आधा दर्जन निर्माणसँग सम्बन्धित उद्योग रहेको यो समूहले दरबार फुड्स उद्योग स्थापना गरेको हो ।

भरतपुर महानगरपालिका–४ लक्ष्मीपुरमा ९ कट्ठा जग्गामा २२ करोड लगानीमा उद्योग स्थापना गरिएको समूहका अध्यक्ष लक्ष्मण अर्यालले बताए । यो उद्योगबाट अहिले मसला उत्पादन सुरु भएको छ । उनका अनुसार अहिले १८ थरी मसला उत्पादन गरिरहेको छ।

‘हामीले एफएमसीजीमा एग्रेसिभ लगानी गर्ने गरी उद्योग स्थापना गरेका छौं। अहिले दरबार ब्राण्डमा मसला उत्पादन गरिरहेका छौं,’ उनले भने, ‘केही दिनभित्रै दालमोठ, भुजिया र नमकिन उत्पादन सुरु हुनेछ ।’ उद्योगबाट कर्नफ्लेक्स, मुस्लीलगायत पनि प्याकेजिङ गरेर बिक्री गर्ने उनले बताए । केही वर्षभित्रै कुरकुरे, पोट्याटो चिप्सलगायत पनि उत्पादन गर्ने अर्यालले बताए । ‘हामीले दीर्घकालीन लक्ष्य बनाएर यो क्षेत्रमा हात हालेका छौं। उद्योगको म्यानेजमेन्ट टीम समेत अनुभवी छ,’ उनले भने, ‘नेपालका राम्रा कम्पनीका काम गरेका दक्ष जनशक्तिलाई हामीले आफ्नो उद्योगमा ल्याएका छौ ं।’

अत्याधुनिक प्लान्ट ल्याएर खाद्य उद्योगमा हात हालेको बताउँदै मसलाले विस्तारै बजार लिन सुरु गरेको अर्यालले जानकारी दिए। ‘हामीले जर्मन प्रविधिको मेसिनरी मुम्बईबाट ल्याएका हौ। अरु उत्पादनका लागि पनि उच्च गुणस्तरको मेसिनरी ल्याउनेछौं,’ उनले भने, ‘खाद्य उद्योग ज्यादै नै संवेदनशील हुने भएकाले यसमा प्रयोग हुने वस्तु समेत उच्च गुणस्तरको प्रयोग गर्नेछौं।’

उद्योगी अर्यालले यो क्षेत्रमा बहुराष्ट्रिय कम्पनीको बोलवाला रहेपनि प्रतिस्पर्धामा खरो उत्रिने दाबी गरेका छन् । ‘निश्चय पनि यो क्षेत्रमा बहुराष्ट्रिय कम्पनी र राष्ट्रिय स्तरमा समेत तीव्र प्रतिस्पर्धा छ । हामी पनि राम्रै प्रतिस्पर्धा गर्ने गरि यो क्षेत्रमा आएका छौं,’ उनले भने, ‘त्यही भएर हामीले मेसिनरी र प्याकेजिङ मेटेरियल समेत उच्च गुणस्तरको प्रयोग गरेका छौं। उत्पादनमा प्रयोग हुने खाद्यान्न समेत उच्च गुणस्तरकै हुनेछ।’

उनले स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने सामग्री आफ्ना उत्पादनमा प्रयोग नगर्ने समेत दाबी गरे। ‘स्वादकै लागि भनेर स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने केमिकलहरु प्रयोग गर्दैनौं,’ अर्यालले भने, ‘खानयोग्य भएपनि आकर्षक देखाउन रंगहरुको प्रयोग कम गर्छौं।’

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>