Breaking News
चितवनमा झण्डै ९० प्रतिशत कोरोना संक्रमित घरभित्र आइसोलेसनमा, सचेत रहन चिकित्सकको आग्रह

चितवन, जेठ ३०-
चितवनमा कोरोनाको दोस्रो लहर सुरु भएदेखि आजसम्म आइसोलेसनमा बस्नेहरुको रोजाइमा घर नै बन्ने गरेको छ ।
स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार चितवन जिल्लाभर जम्मा आइसोलेसनमा एक हजार ५९३ जना छन् जसमध्ये एक हजार ४१८ जना घरमा नै आइसोलेसनमा रहेका छन् । जुन जम्मा संख्याको ८९ प्रतिशत बढी हुन आउँछ । त्यसैगरी अस्पतालको आइसोलेसनमा १३९ जना र सार्वजनिक आइसेलेसनमा ३६ कोरोना संक्रमित रहेका छन् । यस तथ्यांक हेर्दा अधिकांश संक्रमितको रोजाइमा अस्पताल या सार्वजनिक आइसोलेसन भन्दा घरको आइसोलेसन नै बढी रोजाइमा पर्न गएको देखिन्छ ।
अघिल्लो लहरमा भने घरमा आइसोलेसनमा बस्नेहरुको संख्या निकै कम थियो । भरतपुर अस्पतालका कोभिड कोअर्डिनेटर डा प्रमोद पौडेलले घरलाई नै सुरक्षित मानेर अधिकांश संक्रमितहरु घरमा नै बस्ने गरेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ खानपान र हेरचाहको हिसाबले पनि मानिसहरुले अस्पताल भन्दा घरलाई नै सजिलो मानेका छन् । तर, कोरोना संक्रमित भएपछि खतराको अवस्था भने पहिचान गर्नुपर्छ । लास्ट स्टेजमा अस्पताल गए बचाउन सकिँदैन ।’ उनले घरमा आइसोलेसनमा बस्नेहरु खतराको संकेतहरुबारे भने सचेत हुनुपर्ने जानकारी दिए ।
स्वास्थ्य कार्यालयले आज उपलब्ध गाराएको तथ्यांक अनुसार चितवनमा विगत २४ घण्टामा २४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा भरतपुर महानगरपालिकाका १७ जना, खैरहनीका २ जना, माडीका १ जना, रत्ननगरका २ जना र इच्छाकामनाका २ जना रहेका छन् । आजसम्म चितवनमा २४४ जनाको कोरोना संक्रमणको कारणले निधन भएको छ ।
























