Breaking News
चितवनमा मजदूरी गर्ने अपाङ्गता भएका दम्पतीलाई निषेधाज्ञामा रोगभन्दा भोकको चिन्ता

चितवन, जेठ २१-
रचना थापा र उनका श्रीमान् उमेश ऐर शारीरिकरुपमा अशक्त छन् । दुवै ह्विलचियरको प्रयोग बिना हिडडुल गर्न सक्दैनन् । तर, उनीहरु अवसरको खोजीमा दाङदेखि चितवन आइपुगे । एक वर्षअघि सिलाइकटाइको काम गर्न चितवन झरेका उनीहरुले सोचेँ जस्तो हुन सकेन । तर, पनि जसोतसो गुजारा चलाएकै थिए । लामो निषेधाज्ञापछि उनीहरुलाई अहिले छाक कसरी टार्ने भन्ने चिन्ता छ ।
‘एक वर्षअघि भरतपुर कोठामा आएर बस्यौँ । सुरुमा अपाङ्ग जागरण समाजले हामीलाई काम दिन्छौँ भन्यो । तर, हामीलाई चित्त बुझेन । कोठा खोजेर सिलाइकटाइको काम गर्न थाल्यौँ । त्यसले दैनिक जीविका चलेकै थियो’ रचनाले भनिन् ‘सो कमाइबाट भरतपुरमा बस्न चार जनालाई पुगेको थियो ।’ उनीहरुले आमालाई पनि भरतपुर नै ल्याएका छन् । एउटा आठ महिनाको छोरा छ ।
अपाङ्ग जागरण समाजमा सोचेजस्तो आम्दानी नभएपछि उनीहरु गणेस्थानमा कोठा सरे । तर, त्यहाँ आएको एक सातामै निषेधाज्ञा सुरु भयो । नयाँ ठाउँमा उनीहरुले काम सुरु गर्नै पाएनन् । काम नभएपछि आम्दानी पनि छैन । पहिल्यै किनेको चामल र दालले गुजारा चलिरहेको थियो । अहिले खाद्यान्न समेत सकिएको उमेश बताउँछन् ।
‘हामीले बलको काम गर्न सक्दैनौँ । हाम्रो सिप कपडा सिलाउने हो । त्यहाँबाट लिएको पैसाले दैनिक गुजारा चलेकै थियो’, उमेशले भने, ‘अहिले काम पाइदैन । कोठा भाडा नतिरेको पनि दुई महिना पुगिसक्यो । नयाँ भएर पनि होला पसलेले सामान दिँदैन । यस्तो समयमा कहाँबाट पैसा ल्याउने ।’ बुढी आमा र आठ महिनाको छोरालाई के खुवाउने भन्ने चिन्ता उनीमा छ । घर भाडा नै उनीहरुको तीन हजार ५०० रुपैयाँ छ ।
माइती नेपाल चितवनले शुक्रबार १५ किलो चामलसहित खाद्यान्न पाएपछि उनीहरुको अनुहारमा केही मुस्कान त देखिन्थ्यो । तर, यसले कति दिन पुग्ने हो थाहा छैन । केही महिनादेखि नै खाद्यान्न अभाव भएको थियो । कहिलेकाही भोकै बसेको उनले बताए ।
मनकारी संस्थाले दिएको खाद्यान्नबाट जीविका चलाउने गरेको उनको भनाइ छ । ‘चितवन आएदेखि हाम्रो जीवन संघर्षमै चलेको छ । सोचेजस्तो काम गर्न सकिएन । श्रीमती सुत्केरी भइन् । त्यतिखेर यहाँका टोलछिमेकीले नै सहयोग गर्नु भयो । बिस्तारै आफै काम गर्नुपर्छ भन्ने सोचका साथ कोठा सर्दा निषेधाज्ञा भयो,’ उनले भने, ‘कतिदिन यस्तो जीवन चलाउनु पर्ने हो ।’ दैनिक ज्यालादारी गर्ने मजदुरहरु निषेधाज्ञाको पालना गर्दै घरमा ‘बन्द’ छन् । काम रोगभन्दा पनि भोगले मर्ने अवस्थामा आएको उनले बताए ।
रचना र उमेशको प्रेम यसरी बस्यो
ओखलढुंगाकी रचना आमासँग काठमाडाँैमा बस्दै आएकी थिइन् । अवसरको खोजीमा रहेकी रचनाले पाँच वर्षअघि अपाङ्ग कल्याणसंघले धादिङमा सिलाइकटाइको तालिम दिने सूचना पत्रिकामा देखिन् । तालिमका लागि फर्म पनि भरिन् । उनलाई आयोजकले छनोट ग¥यो । त्यहाँ दाङका उमेश ऐर पनि आएका थिए । बिस्तारै चिनजान बढ्दै गयो । एक वर्षको कोष सकेपछि उनीहरु आ–आफ्नो घर फर्किए । फेरी उनीहरुको काठमाडौँमा तालिमकै सिलसिलामा भेट भयो । त्यसपछि उनीहरुले विवाह गर्ने निधोमा पुगे । घरपरिवारसँगको सल्लाहमा नै उनीहरुले सामान्य विवाह गरे । विवाह गरेको दुई वर्ष दाङ नै बसे । तर, आफूले नै केही गरेर खानुपर्छ भन्ने आँटका साथ चितवन आएको रचना बताउँछिन् । उनीहरुले कुर्ता सुरुवालदेखि कोट पाइन्टसम्म कपडा सिलाउँछन् । उनीहरुको आफ्नै कपडा सिलाउने मेसिन पनि छ ।
‘पैसा भएको भए हिड्न सक्थे ’
रचना कक्षा १२ मा पढ्दै थिइन् । एक्कासी उनी बिरामी भइन् । आमाले उपचारका लागि काठमाडौमा ल्याइन् । टाइफाइट र निमोनिया भएको चिकित्सकले बताए । उनी अस्पतालमा नै १ महिना भर्ना भइन् । पछि खुट्टा चल्न छोड्यो । चिकित्सकले थेरापी गर्न सुझाव दिए । तर, पैसा अभाव हुँदा उपचार हुन नसकेको तितो अनुभव उनले सुनाइन् । ‘आमाले काठमाडौँमा घर बनाउने ठाउँमा काम गर्नुहुन्थ्यो । भएको पैसा पनि पहिले उपचार गर्दैमा सकियो ।’ उनले सुनाइन्, ‘एक महिना थेरापी गरेपछि हिड्न सकिन्छ भन्दा भन्दै एक साता पनि थेरापी गर्ने पैसा नभएर घरमा नै बस्नुप¥यो । सायद पैसा भएको भए हिड्न सक्थे होला ।’ एक दिन थेरापी गरेको अस्पतालले एक हजार लिने गरेको उनले बताइन् । त्यसपछि अहिलेसम्म उनी थेरापीको लागि अस्पताल गएकी छैनन् । उनका श्रीमान् उमेश भने सानैमा पोलियो हुँदा कारण हिड्न नसकेका हुन् । अहिले उमेश ३४ वर्ष पुगे भने रचना २४ वर्ष पुगेकी छन् ।

























