चितवन विशेष
इन्टर्याक्ट क्लब अफ वाल्मीकिद्वारा भरतपुरका ७० घरलाई खाद्यान्न सहयोग

चितवन, जेठ २७-
इन्टर्याक्ट क्लब अफ वाल्मीकिले भरतपुर महानगरका विभिन्न ठाउँका ७० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
क्लबले प्रेषित गरेको सूचना अनुसार आँपटारीको ईन्द्रेणी टोलका ३० घरपरिवार र भोजाड–११ का ४० घरपरिवार गरी जम्मा ७० घरपरिवारका करिब ३०० जनालाई सो सहयोग गरेको हो ।
फिद द हङ्ग्री नेपालको सहयोगमा उक्त संस्थाका प्रतिनिधि सावित्री पौडेल र प्रज्ज्वल न्यौपानेको उपस्थितिमा खाद्यान्न सहयोग वितरण गरिएको जनाइएको छ । प्रती परिवार सात केजी चामल, २ केजी दाल, नुन १ पोका, ६ थान सेनिटरी प्याड, १ थान सेनिटाइजर र मास्क वितरण गरिएको क्लबका अध्यक्ष अमृत ढकालले जानकारी दिए । ईन्द्रेणी सक्षम महिला समूहको संयोजनमा आपटारीमा कार्यक्रम गरिएको हो । त्यसै गरी भोजाड–११ मा शान्ति आमा समूहले कार्यक्रम संयोजन गरेको थियो ।
कोरोनाको जोखिम अझै पनि व्याप्त रहेकोले सबैलाई सुरक्षितसाथ घरमै बस्न अनुरोध गर्दै निषेधाज्ञाका कारणले दैनिक ज्याला मजदूरी गरी जिविकोपार्जन गर्ने सर्वसाधारणलाई हातमुख जोड्न समस्या देखिएकोले खाद्यान्न सहयोग वितरण गरिएको र आवश्यकताको पहिचान गरी अन्य स्थानहरूमा पनि थप खाद्यान्न सहयोग गर्ने अध्यक्ष ढकालले बताए ।

























