चितवन विशेष

रत्ननगर नगरपालिकाद्वारा मानव सेवा आश्रमलाई चार लाख सहयोग

Banner

चितवन, जेठ २५-

चितवनको रत्ननगर नगरपालिकाले मानव सेवा आश्रमलाई मंगलबार आर्थिक सहयोग गरेको छ ।

सडक पेटी तथा सार्वजनिक स्थलमा बेसहारा जीवन बिताई रहेका वृद्धवृद्धा,अशक्त तथा बालबालिकाको उद्धार गरी संरक्षण गरिरहेको मानव सेवा आश्रमलाई सो नगरपालिकाले चार लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

आश्रमको भरतपुर स्थित शाखामा आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन र उपमेयर विमला दुवाडीले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । हेटौडामा मुख्य कार्यालय रहेको सो आश्रमको सात वटै प्रदेशका १६ जिल्लामा २५ वटा शाखामा १०४ बालबालिकासहित एक हजार ७०० जना आश्रित छन् । चितवन शाखामा चार जना बालबालिका सहित ६५ जना सडकबाट उद्धार गरिएका व्यक्तिहरु रहेका छन् । रकम हस्तान्तरण कार्यक्रममा मेयर वनले मानव सेवा आश्रमले मानवताको लागि निभाएको भूमिकालाई प्रशंसा गरेर नसकिने बताए । यो आश्रम सडकमा जीवन बिताइरहेका वृद्धवृद्धा,अशक्त तथा बालबालिकाको मन्दिर हो उनले भने यहाँ जति सहयोग गरे पनि कमी हुन्छ । स्थानीय सरकारको हैसियतले मान्छेको बाच्न पाउने अधिकार सुरक्षित गरिरहेको आश्रमलाई सहयोग गर्ने दायित्व भएको भन्दै उनले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए ।

उपमेयर दुवाडीले सडकमा जीवन व्यतित गरिरहेका वृद्धवृद्धाहरुलाई नयाँ जीवन प्रदान गरेर मानव सेवा आश्रमले मानवताको ठूलो उदाहरण पेस गरेको बताइन् । आश्रमका अध्यक्ष अधिकारीले सम्भव भएसम्म अर्को वर्ष नेपाललाई सडक मानव मुक्त देश घोषणा गर्ने अभियानमा लागि परेको बताए । सकभर आश्रम खोल्ने र सञ्चालन गर्ने अवस्थाको अन्य गर्ने प्रयासमा हामी छौं उनले भने त्यसका लागि मानवता प्रवद्र्धनको कार्यक्रम सञ्चालन गर्नुपर्ने हामीमा जिम्मेवारी छ । तीनै तहको सरकारको सहयोग भयो भने लक्ष्य हासिल गर्न धेरै समय नलाग्ने उनको भनाइ छ । रकम हस्तान्तरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा, वडा नं ५ का वडाध्यक्ष कृष्ण महतो, वडा नं १० का वडाध्यक्ष केशव आचार्य, प्रशासकीय अधिकृत अर्जुन पंगेनीलगायतको सहभागिता रहेको थियो । यसैबीच नारायणगढको बेलचोकमा निर्माणाधीन मानव सेवा आश्रमको भवनको मेयर वन, उपमेयर दुवाडीसहितका जनप्रतिनिधिहरुले अवलोकन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>