Breaking News

चितवनकै उत्कृष्ट बनेको खैरहनी नगरपालिकाले झण्डै एक अर्बको बजेट ल्याउँदै

Banner

चितवन,जेठ २४-

स्वमूल्यांकनमा चितवनका स्थानीय तहमध्ये उत्कृष्ट बनेको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी तीव्र पारेको छ ।

आगामी आर्थिक वर्ष २०७८\७९ का लागि झण्डै एक अर्बको बजेट ल्याउने नगरपालिकाले तयारी गरेको हो । बजेटका विषयमा विषयगत समितिहरुको बैठक पनि बसिरहेको छ । त्यस अघि विभिन्न शाखा, विषयगत समितिहरु, वडाका लागि बजेटको सिलिङ तोकेर त्यस भित्र रही कार्यक्रम तयार पार्न भनिएको छ ।

आगामी वर्षका लागि वडालाई केही बजेट थप गरिँदै छ भने विभिन्न शाखामा पनि बजेट थप्ने तयारी भइरहेको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले जानकारी दिए । आन्तरिक स्रोत बढ्दै जाँदा नगरपालिकाले प्रत्येक वर्ष वडागत बजेटमा समेत केही वृद्धि गर्दै आइरहेको छ । नगरका वडाहरुलाई न्यूनतम एक करोड २३ लाखदेखि एक करोड ८१ लाखसम्म बजेट विनियोजन गर्ने तयारी छ । ५० प्रतिशत समान रुपमा विनियोजन हुने भए पनि बाँकी ५० प्रतिशतमा ४० प्रतिशत भूगोल, ४० प्रतिशत जनसंख्या, १० प्रतिशत राजस्व संकलन र १० प्रतिशत पिछडिएको क्षेत्रलाई आधार बनाएर विनियोजन गरिने मेयर चौधरीले बताए । आगामी वर्षका लागि नगरका १३ वटा वडालाई कूल १९ करोड १८ लाख रुपैयाँ विनियोजन गरिँदै छ ।

वडाले प्राप्त गर्ने र विषयगत शाखाहरुले प्राप्त गर्ने बजेटको सिलिङ आइतबार बसेको कार्यपालिका बैठकले पारित गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत एवम् कार्यपालिकाका सदस्य सचिव चन्द्रकान्त न्यौपानेले जानकारी दिए । वडा कार्यालयलाई जेठ मसान्त भित्र बजेटमा रही कार्यक्रम नगरपालिकामा पेस गर्न समय दिइएको छ । न्यौपानेका अनुसार बजेटको सिलिङ वडा कार्यालयहरुमा पठाइसकेको छ ।

कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै खैरहनी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा बजेट बढाउने तयारी गरेको छ । आगामी वर्षका लागि झण्डै ५० लाख रुपैयाँ वृद्धि गर्ने तयारी नगरपालिकाले गरेको हो । आगामी वर्षका लागि स्वास्थ्य तर्फ एक करोड ७५ लाख विनियोजन गरिएको छ । कोरोना संक्रमण नियन्त्रणमा संघीय सरकारले बजेट नपठाएकाले अहिले स्थानीय तहलेनै आफ्नै खर्चमा रोग नियन्त्रणको काम गर्नु परेकाले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्न लागिएको नगर प्रमुख लालमणि चौधरीले बताए ।

विपद्, वातावरण तथा फोहोर मैला व्यवस्थापनमा ५० लाख रुपैयाँ वृद्धि गरेर दुई करोड पु¥याउने तयारी छ । शिक्षा शाखा, महिला तथा बालबालिका शाखा, कृषि, पशु, सामाजिक विकासमा पनि बजेट वृद्धि गर्ने नगरपालिकाकी उपप्रमुख एवम् राजस्व परामर्श समिति संयोजक सुनिता थपलियाले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>