Breaking News

बागेश्वरी र देवघाट क्षेत्रका बाँदर र बेवारिसे जनावरको सेवामा जुट्दै नारायणगढका अग्रवाल

Banner

चितवन, जेठ १५-

कोरानाको बढ्दो संक्रमणसँगै चितवनमा जारी निषेधाज्ञाले मानव मात्र होइन । जनावर पनि आक्रान्त छन् । देवघाट र वागेश्वरी जस्ता धार्मिक स्थलहरुमा निषेधाज्ञाहरुले मानिसहरुको अवातजावत ठप्प हुँदा सयौं बाँदर र सडकमा बेवारिसे जनावरहरु मर्कामा परेका छन् । सधै भक्तजनले ल्याएका प्रसाद र खानाबाट ती जनावरहरुले भोक मेटाउने गर्दथे । तर, अहिले नत उनीहरुको संरक्षणमा स्थानीय तहको ध्यान गएको छ नत देवघाट क्षेत्र विकास समितिले नै यसबारे चासो देखाएको छ । निषेधाज्ञाको पीडामा पनि हरेक दिन बाँदर र जनावरहरुलाई खाद्यान्न बोकेर देवघाट र वागेश्वरी क्षेत्रमा पुग्ने गर्छन् नारायणगढका युवा व्यवसायी चन्दन अग्रवाल ।

अग्रवाल गत वर्षको लकडाउनदेखि नै नियमित जनावरलाई खाना खुवाउन सो ठाउँमा पुग्ने गर्छन् । उनले बाँदर, जंगलमा छाडेका गाई, गोरु र कुकुरलाई खाना खुवाउँछन् । खाना पनि चना, मकै, गहुँ, चामल मिसेर निके हाइजेनिक र शक्तिवद्र्धक बनाएर दिने गर्छन् । जेठ महिनाको चर्काे घाम होस् वा निरन्तरको झरीको परवाह नगरी उनी जनावरलाई खाना खुवाउन नियमित खटिरहेका छन् । उनको यो सबै व्यक्तिगत खर्चमा गरिएको सेवा हो ।

व्यवसायी अग्रवालले नारायणी अनलाइनलाई भने, ‘जंगलमा जंगलमा सुख्खा भएर बाँदरले केही पनि खान पाएका थिएनन् । बाँदरले खान पाएन भने स्वत मानिसलाई डिस्टर्ब गर्छ । अब वागेश्वरी र देवघाट वरिपरी सबै गरेर हजारौं बादर छन् । नियमित मिक्स आइटम जस्तै मकैँ, गेडागुडी, चना, गहुँ सबै मिक्स गरेर ल्याइदिन्छु । यो भयो भने यिनीहरुलाई फाइबर पनि हुन्छ । अरुलाई भन्दा गाईलाई बाँदरलाई खुवाउँदा आनन्द लाग्छ । आत्मसन्तुष्टि दिन्छ । जे बाट आनन्द प्राप्त हुन्छ । त्यही नै गर्ने हो । मैले त्यही नै गरेको छु । यस कामबाट एकदमै खुसी र आनन्द लाग्छ । ’

बाँदरले वागेश्वरीमा धेरै गोठालाहरु, बाटोमा हिड्ने मानिसहरु र कार्यालयहरुमा पसेर बितण्डा मच्चाउँछन् । जबदेखि अग्रवालले बाँदरहरुलाई खुवाउन थाले तबदेखि बाँदरले कुनै डिस्टर्ब गर्देन । जंगलको बाँदरले खान पाएनन् भने यिनीहरु स्वत बजारका घरहरुमा जान्छन् । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरन घिमिरेले अहिलेसम्म बाँदरको सेवा र हेरबिचारको लागि क्षेत्र विकास समितिसँग केही पनि योजना र बजेट नभएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ बाँदरलाई लकडाउनमा खानाको समस्या छ । अन्य सामान्य अवस्थामा भक्तजनले ल्याएका खाद्यान्न र प्रसादले नै पुग्ने गर्छ । अग्रवालले यो समयमा बाँदरलाई खाना दिएर निकै उदाहरणीय कार्य गर्नु भएको छ ।’

मानिसको पुर्खा मानिएको बाँदर निकै चकचके र निमुखा प्राणी हो । सार्वजनिक क्षेत्रमा रहेका यी जनावरहरुको सेवा र संरक्षणमा जुटेका अग्रवाल भन्छन् , ‘ बाँदरलाई ढुंगा हान्ने, बाँदरलाई जिस्क्याउने राम्रो काम होइन । मानिस आएपछि केही न केही खानेकुरा ल्यादिएको होला भन्ने आश हुन्छ । नजिक जान खोज्छ खानेकुरा ल्याएपछि अनी ढुंगा उठाएर हान्यो भने लठ्ठीले हान्यो भने गुलेलीले हान्यो भने त्यो एग्रेशिभ हुन्छ र मानिसलाई आक्रमण गर्छ ।’

बाँदरलाई नियमित तरिकाले खाने खानाको मात्र व्यवस्था भइदियो भने पनि कुनैपनि व्यक्तिलाई हानी गर्दैन । चितवनका विभिन्न ठाउँबाट वागेश्वरीको जंगलमा गाईगोरु ल्याएर छाड्ने प्रवृत्ति छ तर तिनीहरुको उचित संरक्षण र रेखदेख हुन सकेको छैन । अग्रवालले जंगलमा छाडिएका छाडा गाईहरुलाई पनि नियमित चोकर र दानापानी ल्याएर दिने गरेका छन् । उनी छाडा चौपाया भन्दा पनि बाँदरप्रति नै बढी चिन्तित देखिन्छन् । उनले भने, ‘गाईले धेरै थोरै रुखबिरुवा खाएर बाँच्छन् तर बाँदरलाई यो जंगलमा कुनै पनि आहार छैन । कहिलेकाहीँ बयर, काफल वा केही न केही पाउने कुरा बेग्लै हो । तर, अहिले त्यो पनि छैन । बर्खा लाग्यो । साउन भदौंपछि अलीअली फलफूलहरु हुन्छ । ’ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले अहिलेसम्म दाताहरुकै भरमा बाँदरलाई खाना खुवाउँदै आएको कतैबाट बजेटको व्यवस्था नभएको नारायणी अनलाइनलाई बताए । व्यवसायी अग्रवालको सेवा देखेपछि क्षेत्र विकास समितिले पनि बाँदरको संरक्षणमा विशेष नीति र योजना ल्याउने तयारी गरेको उनले बताए । अहिले देवघाट क्षेत्रमा अन्य मानिसले गरेको भन्दा फरक काम गरेर व्यवसायी अग्रवालको सेवाले राम्रो पंशंसा पाउने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>