Breaking News

चितवनमा कोरोना संक्रमण दर घट्यो, ७४ प्रतिशतबाट संक्रमण दर १५ प्रतिशतमा झर्‍यो

Banner

मधुसूदन दवाडी

चितवन, जेठ १५

चितवनमा मध्य जेठसम्म आइपुग्दा कोरोना संक्रमण दरमा धेरै कमी आएको छ । अस्पताहरुमा कोरोनाका बिरामीको चाप पनि निरन्तर घट्दै गएको देखिन्छ ।

भरतपुर अस्पतालका अध्यक्ष तथा वरिष्ठ फिजिसिएन डा भोजराज अधिकारीले चितवनमा भएको जम्मा कोरोना परीक्षण मध्ये ७४ प्रतिशतलाई संक्रमण देखिने गरेकोमा अहिले १५ देखि २० प्रतिशतलाई मात्र संक्रमण देखिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ यो एकदमै शुभ संकेत हो । अब दुई हप्ता धैर्य गरौं । कोरोना संक्रमण धेरै घट्छ ।’ डा अधिकारीले भरतपुर अस्पतालमा एक हप्ताअघिसम्म दिनको ४५० जना जति दैनिक कोरोना परीक्षण गर्न आउने गरेकोमा अहिले दैनिक १५० जना मात्र आउँने गरको बताए । उनले भने, ‘परीक्षण गर्नेको संख्या घटेसँगै कोरोना संक्रमण दर पनि घट्दो छ । गम्भीर रहेका कतिपय बिरामीको मृत्यु भएका छन् भने सामान्य बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालहरुमा बिरामीको चाप घट्दो छ ।’ उनले कोरोनाको तेस्रो वेभ भविष्यमा आउन पनि सक्ने वा सामान्य रोग जस्तो भएर जाने दुवै सम्भावना रहेको बताए ।

स्वास्थ्य कार्यालय चितवनले आज प्रेषित गरेको तथ्यांक अनुसार विगत २४ घण्टामा चितवन जिल्लामा एक जना पनि कोरोना संक्रमितको निधन भएको छैन । अन्य जिल्लाबाट आएका कोरोना संक्रमित भने तीन जनाको मृत्युभएको छ ।

अस्पतालमा उपचाररत बिरामीको संख्या ५०० बढी पुगेको थियो तर विगत २४ घण्टामा सो संख्या घटेर ३९२ मा झरेको छ ।
त्यसैगरी आईसीयू र भेन्टिलेटरमा पनि बिरामीको संख्या घटेको देखिन्छ । विभिन्न अस्पतालको आईसीयूमा १९०, भेन्टिलेटरमा ६१ जना, एचडीयूमा ४३ जना र सामान्य बेडमा १५४ जनाको उपचाररत भइरहेको छ । जुन एकहप्ता अगाडिको तथ्यांक भन्दा धेरै कम हो ।

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार विगत २४ घण्टामा १०७ जना कोरोना संक्रमित चितवनमा थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ८२ जना, खैरहनीमा ३ जना, माडीमा ५, रत्ननगरमा ९ जना, राप्तीमा ५ जना र कालिकामा ३ जना रहेका छन् । योसँगै चितवनमा संक्रिय संक्रमितको संख्या चार हजार ९०३ जना पुगेको छ । चितवनका विभिन्न अस्पतालबाट विगत २४ घण्टामा ३५ जना बिरामी डिस्चार्ज भएका छन् जुन संख्या एक हप्ता अगाडि धेरै कम थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>