अर्थ
रानीखेतले चपेटामा परेका कुखुरापालक किसान फेरि बर्डफ्लुको मारमा

काठमाडौं,जेठ १३-
कुखुरामा लाग्ने रानीखेत रोगको प्रकोपले चपेटामा परेका कुखुरापालक किसान फेरि बर्ड फ्लु रोगको मारमा परेका छन् । विगत ६ महीनादेखि देशैभरका कुखुरामा देखिएको रानीखेत रोगको प्रकोपले २० प्रतिशत किसानले कुखुरा पाल्न छोडिसकेको अवस्थामा पटकपटक बर्डफ्लुको पनि संक्रमण देखिँदा किसानहरू झनै मारमा परेका हुन् । काठमाडौंको तारकेश्वर नगरपालिका, ललितपुरको नख्खु, जाजरकोट र सुर्खेतमा समेत किसानले पालेका हाँस, कुखुरा र टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको थियो । पछिल्लोपटक काठमाडौंको कीर्तिपुर नगरपालिकाको वडा नं ४ र ९ सँगै चन्द्रागिरि नगरपालिकाको वडा नं २ मा किसानले पालेका टर्कीमा बर्डफ्लुको संक्रमण पुष्टि भएको छ ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा सोमवार बर्डफ्लु पुष्टि भएको पशुसेवा विभागले बताएको छ । विभागले बुधवार विज्ञप्ति जारी गर्दै त्यस क्षेत्रका कुखुरामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
रोगको पुष्टि भएसँगै त्यस क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन र तत्काल नियन्त्रणमा लिन घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको बताइएको छ । आर्थिक अभियान दैनिकबाट
























