Breaking News
निरन्तरको निषेधाज्ञाले चितवनका झण्डै ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा

मधुसूदन दवाडी
चितवन, जेठ १२
कोरोना महामारी र निरन्तरको निषेधाज्ञाले चितवनका झण्डै ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।
निरन्तरको निषेधाज्ञा र बढ्दो कोरोना संक्रमणको कारणले कच्चा पदार्थको अभाव तथा उत्पादित बस्तुको बिक्री वितरणमा समस्या आएकोले उद्योगहरु बन्द हुने अवस्थामा पुगेका हुन् ।
चितवनमा २५ करोड बढी लगानीका झण्डै एक दर्जन, १० करोड बढी लगानीका १०० भन्दा बढी, ५ करोड बढी लगानीका झण्डै २०० वटा उद्योगहरु रहेका छन् । एकातिर रोगको त्रासले उद्योगीहरु तथा मजदुर त्रासमा छन् भने अर्काेतिर उद्योग बन्द भएमा बेरोजगारीको दर झनै बढ्दै जाने खतरा पनि रहेको छ । चितवनमा साना तथा ठूला उद्योगमा हजारौ मानिसहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् ।
चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले अहिले ४० प्रतिशत उद्योगहरु बन्द हुने अवस्थामा पुगेको र यो निषेधाज्ञा अझै एक हप्ता बढी थपिँदै गएमा ५० प्रतिशत उद्योगहरु बन्द हुने अवस्था रहेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ धेरै उद्योगहरुमा कच्चा पदार्थको अभाव भएको छ । जेनतेन सामान उत्पादन गरिरहेका उद्योगहरुले पनि सहजरुपमा आफ्नो उत्पादन बजारसम्म लान सकेका छैनन् ।’ कतिपय उद्योगमा मजदूर तथा कर्मचारीहरु कोरोना संक्रमित भएर उद्योग नै बन्द गर्नु परेको उनले बताए । उनले भने, ‘अहिले सहजरुपमा उद्योग चलाउने वातावरण भए पनि बढ्दो कोरोना संक्रमणले चिन्तित बनाएको छ । खुलेका उद्योगहरु पनि बिक्री वितरणमा समस्यामा परेका छन् ।’
गत वर्षको लकडाउनमा मारमा परेका उद्योगहरु केही सहजरुपमा चल्दै जाने धेरै लगानीकर्ताहरुको अपेक्षा थियो तर कोरोनाको दोस्रो लहरले झनै बढी समस्यामा पारिदियो । घरपरिवार, आफन्त, मजदूर सबै संक्रमित हुँदै जादा उद्योग चलाउने मनस्थिति नै नभएको उद्योगीहरु बताउँछन् । उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष तथा उद्योगी तिलचन्द्र भट्टराई स्वयं पनि अहिले आइसोलेसनमा नै रहेका छन् । उनले नारायणी अनलाइनलाई भने, ‘ कोरोना महामारीले सबैको घरघरमा नै समस्या पारेको छ । पहिलेको लकडाउनपछि अब विस्तारै वातावरण सहज हुँदै जान्छ भन्ने थियो तर दोस्रो लहरले झनै बढी पीडा थपिदियो ।’ उनले अहिले निषेधाज्ञा बाध्यात्मक अवस्था भएको बताए । उनले भने, ‘ अहिले रोगबाट बच्नुनै प्रमुख प्राथमिकता हो । सबै उद्योगहरु समस्यामा छन् । कर्मचारी, मजदुर सबै बिरामी भएकोले उद्योग चलाउने राम्रो वातावरण छैन ।’ उनले अबको एक दुई हप्तापछि कोरोना संक्रमण दर नियन्त्रित हुँदै जाने आशा पनि व्यक्त गरे ।
होटल र पर्यटन जस्तो उद्योग मात्र नभएर सधै सदावहार मानिएको कृषि उद्योगहरु पनि निषेधाज्ञाको मारमा परेका छन् । कृषि क्षेत्रमा लगानी गरेका उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष मित्रराज दवाडी कृषि क्षेत्रमा पनि धेरै समस्याहरु निषेधाज्ञाले थपेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ पहिले एक घण्टामा हुने काम अहिले दुई घण्टा लाग्न थालेको छ । निषेधाज्ञाले मजदुर पाउन नै गाहे छ । साना तिना व्यवहारिक कठिनाइहरु देखिएका छन् । बल्लबल्ल मजदुर खोज्यो कच्चा पदार्थ पाउन कठिन छ । उत्पादन भइसकेपछि पनि यातायात सहज नहुँदा बजारीकरणमा समस्या आउने गरेको छ ।’
सरकारले सम्बोधन गर्ने आशा
गत वर्षको लकडाउन र अहिले चितवनमा चलिरहेको निषेधाज्ञाले मर्कामा परेका उद्योगहरुले सरकारले कोरोना नियन्त्रणपछि केही न केही उद्योगीका समस्यालाई सम्बोधन गर्ने धेरैको आशा छ । गत वर्षको लकडाउनपछि पनि सरकारले केही न केहीरुपमा उद्योगीका मागलाई सम्बोधन गरेको थियो । चितवन उद्योग संघका अध्यक्ष पौडेलले बन्द हुने अवस्थामा पुगेका उद्योगलाई राहत हुने गरी केही लोन र करमा छुट दिएको बताए । उनले भने, ‘ उद्योगीहरुले लिएका दीर्घकालिन ऋणलाई पनि सम्बोधन गर्न सके अझ राम्रो हुन्छ । उद्योगहरुमा लगानी बढाउने तर्फ पनि सरकारको ध्यान जानुपर्छ ।’
अर्का उद्योगी डा भट्टराईले पनि कोरोना महामारी नियन्त्रणमा आएपछि उद्योगीहरुले भोगेका समस्याहरुको समाधानमा सरकारले नीति तथा कार्यक्रम ल्याएर सम्बोधन गर्नुपर्ने बताए । उनले भने, ‘अहिले रोग प्रमुख समस्या हो । संक्रमण नियन्त्रणमा आएपछि उद्योगमा भएको क्षतिलाई राज्यले सम्बोधन गर्नुपर्छ ।’ त्यस्तै अर्का उद्योगी दवाडीले पनि सरकारले खासै केही सहयोग नगरे पनि सबै उद्योगीले अहिलेको समस्यालाई दृष्टिगत गरी कोरोना नियन्त्रणमा भएको प्रयासप्रति सहयोगी बनेको बताए । स्वदेशी लगानीमा खुलेका उद्योगले निषेधाज्ञाको समयमा भोगेका समस्यालाई राज्यले केही न केही सम्बोधन गर्छ भन्ने धेरैको आशा रहेको छ ।
फाइल फोटो
























