Breaking News
राष्ट्रपति र प्रधानमन्त्री निरकुंश र तानाशाहीको बाटो हिड्न खोजेः काँग्रेस चितवन

चितवन, जेठ ८–
नेपाली काँग्रेस चितवनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली अलोकतान्त्रिक, निरकुंश र तानाशाहीको बाटो हिड्न खोजेको आरोप लगाएको छ ।
जिल्ला सभापति जितनारायण श्रेष्ठद्धारा शनिबार जारी विज्ञप्तीमा मध्यरातमा संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक कदमले संविधानमाथि नै प्रहार भएको उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ–‘संविधानमाथि प्रहार गर्ने यस किसिमको कदमले लोकतन्त्र मात्र कमजोर भएको छैन, प्रधानमन्त्री र राष्ट्रपति स्वंम अलोकतान्त्रिक निरकुंश र तानाशाहीको बाटो हिड्न खोजेको प्रमाणित गर्दछ ।’
यस्तै काँग्रेस चितवनले देशलाई संविधानबादको लोकतान्त्रिक दिशामा फर्काउन सबै राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी, पेशाकर्मी, बुद्धिजिवी, उद्योगी, व्यवसायीलगायत सबैमा एकजुट भएर अघि बढ्न आह्वान गरेको छ ।
शुक्रबार राष्ट्रपति भण्डारीले साँझ ५ बजेसम्म सरकार बनाउन दिएको समयसीमा काँग्रेस सभापति शेरबहादुर देउवा र स्वंम प्रधानमन्त्री ओलीले बहुमत सदस्यको हस्ताक्षर देखाउँदै प्रधानमन्त्रीमा दावी गरेपछि राष्ट्रपति भण्डारीले दुवैका दावी खारेज गर्दै मध्यरातमा संसद विघटनको घोषणा गरेकी थिइन् । अहिले यस कदमको चौतर्फी विरोध भइरहेको छ ।
























