Breaking News

चितवनमा १५ बरिष्ठ डाक्टरले फोनबाटै बिरामीलाई सेवा दिने, कोरोना संक्रमित र दीर्घरोगीलाई सजिलो हुने

Banner

चितवन, जेठ ८-

चितवनमा घरघरमा आइसोलेसनमा बसेका कोरोना संक्रमित र अस्पताल जान डराएका दीर्घरोगीलाई सजिलो हुनेगरी फोनबाटै वरिष्ठ डाक्टरहरुले सेवा दिने भएका छन् ।

चितवन चेम्बर अफ कमर्सले आज एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै यस कार्यक्रमबारे जानकारी गराएको हो । चेम्बर अफ कमर्सका अनुसार ‘हरेक घरमा डा. छौं फोनमा’ नामको यस विशेष कार्यक्रममा बरिष्ठ डाक्टरहरुसँग बिरामीले प्रत्यक्ष फोनमा सम्वाद गर्ने अवसर प्राप्त गर्नेछन् । चेम्बर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठ र कार्यक्रम संयोजक महेश तिवारीका अनुसार यो कार्यक्रम पूर्णतया निःशुल्क हुनेछ । घरमा बसी बसी चितवन र चितवन आसपासका नागरिकहरुले प्रत्येक दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म १५ जना भन्दा धेरै बरिष्ठ डाक्टरहरुसँग कोभिड तथा ननकोभिडसम्बन्धी सम्पूर्ण जानकारी फोन मार्फत प्राप्त गर्न सक्नेछन् ।

प्रेस विज्ञप्तिमा आवश्यक परेमा अस्पतालसम्म बिरामी लगेर सहुलियतमा उपचार गर्ने व्यवस्था पनि गरिने उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘यससम्बन्धी विस्तृत जानकारी चितवन चेम्बर अफ कमर्सको ०५६–५७१४८४ नम्बरमा सम्पर्क गरेर लिन सक्नुहुनेछ । यहाँहरु सबैले यस कार्यक्रम सफल बनाउन आफ्नो ठाउँबाट सहयोग गरिदिनु हुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

चितवन चेम्बर अफ कमर्सले चितवनमा फैलिएको कोरोना (कोभिड–१९) महामारीबाट आम नागरिकले पाएको पीडाप्रति दुःखी र मर्माहत भएको विज्ञप्तिमा जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘एकातिर अस्पतालमा अक्सिजन तथा बेड पर्याप्त उपलब्ध नहुने अवस्था छ भने अर्काेतिर घरमा आइसोलेसनमा बसेका संक्रमितहरु पनि सही स्वास्थ्य सेवा र डाक्टरको परामर्श पाउन नसकेको समाचारहरु सार्वजनिक भएका छन् । यो महामारीको समयमा कोभिड–१९ बाहेकका अन्य दीर्घरोगीहरु पनि अस्पताल जान डराएर झनै बढी समस्यामा परेको प्रति यस चेम्बर अफ कमर्सको ध्यानआकर्षित भएको छ । ’

विज्ञप्तिमा यस कोभिड–१९ को महामारीमा कोभिड तथा ननकोभिड बिरामी कसैको पनि अकालमा ज्यान नजाओस् भन्ने हेतुले कार्यक्रम सञ्चालनमा ल्याइएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>