चितवन विशेष
चितवनमा चक्रवातको असर, भारी वर्षाको सम्भावना

चितवन, जेठ ५-
भारतको गुजरातको आसपासमा रहेको अति शक्तिशाली चक्रवात आँधीको असरले चितवनको मौसममा असर गरेको छ ।
मंगलबारदेखि चितवनको आकाशमा बादल लाग्नुको साथै हल्का वर्षा भइरहेको छ । आज पनि दिनभर चितवनमा चिसो हावा चल्नुका साथै घाम लाग्न सकेको छैन ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको असरले गर्दा नै चितवनसहित देशभरको मौसममा परिवर्तन आएको हो । विभागले उपलब्ध गराएको सूचना अनुसार चितवनसहित वाग्मती प्रदेशका केही भागहरु र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका भू–भागको एक \दुई स्थानमा हल्का वर्षा भएको छ ।
वर्षा हुने क्रम भोलि बिहीबार अझ बढ्ने सम्भावना छ । महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो तथा राति देशका धेरैजसो स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना छ।
दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना भने कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ ।
उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना समेत रहेकाले खोलानालामा जलप्रवाहसमेत बढोत्तरी हुने र यातायात नै समेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
























