चितवन विशेष
भरतपुर अस्पतालमा कार्यरत फार्मेसिस्टहरु आन्दोलनमा, तोकिएको जिम्मेवारी दिन माग
चितवन, बैशाख ४
भरतपुर अस्पतालमा कार्यरत फार्मेसिस्टहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका संयोजक डा. शैलेस बस्यालले जो जुन बिषयका लागि जागिर खान आएको हो तेसैको जिम्मेवारी दिनु पर्ने आफूहरुको मुख्य माग रहेको बताए । फार्मेसीमा अहिले अर्कै फिल्डका कर्मचारीलाई जिम्मा दिएकोका आफूहरुको असन्तुष्टि रहेको बस्यालले बताए ।
फार्मेसीको काम फार्मेसीस्टलाई नै दिन प्रशासन समक्ष पटकपटक माग राख्दा पनि माग पूरा नभएपछि आन्दोलनमा उत्रनुपरेको उनले बताए । स्वास्थ्य मन्त्रालयले तोकेको फार्मेसी जनशक्तिको कार्यबिबरण अनुसारको जिम्मेवारी पनि तत्काल लागू गर्न आन्दोलकारीहरुको माग छ ।
नेपाल सरकारबाट जारी भएको ऐन नीति नियम कार्यविधिहरुको पूर्ण रुपमा कार्यन्वयन हुनुपर्ने उनीहरुको माग छ । अस्पताल फार्मेसी सम्बन्धमा उल्लिखित नीति, नियम एवं कार्यविधि हुबहु लागु हुनुपर्ने माग आन्दोलनकारीहरुले राखेका छन् ।
बस्यालले अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई समेत ज्ञापन पत्र बुझाइएको बताए । यस्तै चितवनका प्रमुख जिल्ला अधिकारीलाई समेत आन्दोलनकारीहरुले यसबारेमा जानकारी गराएका छन् ।
आन्दोलनकारीहरु हातमा कालो पट्टि बाधेर १ घन्टा धर्नामा बसेका थिए । आन्दोलन गरे पनि काम भने जारी नै राख्ने बस्यालले बताए । हाल भरतपुर अस्पतालमा २३ जना फार्मेसीस्ट कार्यरत छन् ।


























