Breaking News
चितवनमा कोरोना संक्रमित हुनेमा युवा बढी, ज्यान गुमाउनेमा ६१ देखि ७० वर्षका वृद्धवृद्धा धेरै

चितवन, जेठ १-
चितवनमा फैलिएको कोरोनाको दोस्रो लहरमा २० देखि ३९ वर्ष समूहका युवा बढी संक्रमित भएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार ३० देखि ३९ वर्ष समूहका पुरुष सबैभन्दा बढी एक हजार ४६३ जना संक्रमित भएका छन् । त्यस्तै सोही उमेर समूहका महिला एक हजार २७ जना रहेका छन् । त्यसैगरी सबैभन्दा बढी महिला भने २० देखि २९ वर्षका छन् । सो समूहका महिलाको संख्या एक हजार ४२८ जना रहेका छन् भने सो समूहका पुरुष एक हजार ३२६ जना संक्रमित भएका छन् ।
त्यस्तै, तथ्यांक अनुसार १० वर्ष मूनिका बालबालिका र ६० वर्ष माथिका वृद्धवृद्धामा संक्रमण दर धेरै कम रहेको छ । मृतकहरुको उमेर समूह भने संक्रमित हुनेहरुको उमेर समूह भन्दा ठ्याक्कै उल्टो देखिन्छ । मृतक मध्ये ६१ देखि ७० उमेर समूहका नागरिकहरुको बढी मृत्यु भएको छ । यो समूहका मृतकहरुको संख्या ४२ जना रहेको छ भने ३१ देखि ४० वर्ष उमेर समूहका १४ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी, ५१ देखि ६० वर्ष समूहका २८ जना, ७१ देखि ८० वर्ष समूहका २८ जना, ८० वर्ष माथिका २८ जना, ४१ देखि ५० वर्ष समूहका १३ जना रहेका छन् । कोरोना संक्रमणबाट चितवनमा बालबालिका र किशोरकिशोरीको पनि ज्यान गएको छ । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार १० वर्षसम्मको १ जना बालक र ११ देखि २० वर्षसम्मको २ जना किशोरले संक्रमणबाट ज्यान गुमाएका छन् ।
चितवनमा कोरोना संक्रमित मध्ये १.४ प्रतिशतको मृत्यु भएको छ । संक्रमित मध्ये ६५.८ प्रतिशत निको भएका छन् भने ३२.७ प्रतिशत आइसोलेसनमा रहेका छन् । सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकामा रहेका छन् भने सबैभन्दा कम संक्रमित इच्छाकामना गाउँपालिकामा रहेका छन् ।
























