खैरहनी

कोरोना परीक्षणका लागि खैरहनी नगरपालिकामा स्वाब संकलन

Banner

ध्रुवराज खनाल

चितवन, वैशाख २९-

चितवनको खैरहनी नगरपालिकाले कोरोना भाइरस संक्रमण परीक्षणका लागि स्वाब संकलन सुरु गरेको छ ।

योसँगै कोरोना परीक्षणका लागि भरतपुर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । नगरपालिकाले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरसँगको सहकार्यमा खैरहनीमै स्वाब संकलन सुरु गरेको हो ।

कोरोनाको शंका लागेका नगरवासीहरुले यही स्वाब दिएर परीक्षण गर्न पाउनेछन् । परीक्षणका लागि भने क्यान्सर अस्पतालले तोकेको शुल्क तिर्नु पर्छ । भरतपुर जानुपर्ने बाध्यताको अन्त्य गर्न नगरपालिकाले सहजीकरण गरेर यहीँबाट स्बाब संकलन सुरु गरेको खैरहनी नगरपालिका सामाजिक विकास समिति संयोजक एवम् वडा नम्वर ७ का वडाध्यक्ष मनेजर महतोले बताए ।

परीक्षणका लागि क्यान्सर अस्पतालले शुल्क लिए पनि स्वाब संकलनका लागि भीटीएम, स्वास्थ्यकर्मी र भरतपुरसम्म स्वाब पु¥याउने काम भने नगरपालिकाले गर्ने महतोले जानकारी दिए । क्यान्सर अस्पतालले स्वाब परीक्षणका लागि एक हजार रुपैयाँ तोकेको छ । दोस्रो चरणको कोरोना भाइरस संक्रमण पश्चात पूर्वी चितवनमा पहिलो पटक खैरहनी नगरपालिकाले स्वाब संकलन गरेको हो । हप्तामा तीन दिन स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको छ । यो साता बुधबार र शुक्रवार संकलन गरिने भए पनि अर्को सातादेखि आइतबार, मंगलबार र बिहीवार स्वाब संकलन गरिने छ । पहिलो दिन १४ जनाको स्वाब संकलन गरी पठाइएको नगरपालिका स्वास्थ्य शाखा उपप्रमुख रुद्र शर्माले बताए ।

खैरहनीमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अक्सिजनसहितको २४ बेड तयारी अवस्थामा राखिनुका साथै एन्टिजेन परीक्षण, कोरोना पोजेटिभ बोक्नका लागि निःशुल्क एम्बुलेन्स सेवा, संक्रमितलाई घरघरमै औषधि पु¥याउने व्यवस्था, माइकिङ, निषेधाज्ञाको बेला बजारमा हुन सक्ने भीडभाड नियन्त्रण, माइकिङ र स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको अनुगमनका लागि इलाका प्रहरी कार्यालय खैरहनीलाई एउटा गाडी सहयोग, विभिन्न संघसंस्थाको सहयोगमा पर्सा चौबिसकोठीमा स्थापित हेल्प डेस्कलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । खैरहनीमा बुधबारसम्म १०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जनस्वास्थ्य निरीक्षक नविन अधिकारीले बताए । ति मध्ये १० जना निको भइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>