चितवन विशेष
अमेरिका बस्ने चितवनका प्रदिप एनआरएनए एनसीसीको उम्मेदवार

चितवन, वैशाख २३-
चितवनको भरतपुरका प्रदिप पौडेलले एनआरएनए एनसीसीको बोर्ड अफ (केन्द्रीय सदस्य) पदमा मनोनयन दर्ता गराएका छन् । आगामी मेको अन्तिम साता हुने निर्वाचनमा अमेरिकाका २० हजारबढी मतदाताले मतदान गर्नेछन् ।
संसारकै सबैभन्दा ठूलो गैरआवासीय राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हो । आगामी दुई वर्ष कार्यकालका लागि हुने निर्वाचनमा राज्य र केन्द्रीयस्तरका गरी ४०० बढी उम्मेदवार चुनावी मैदानमा रहेका छन् । लामो समय प्राध्यापन क्षेत्रमा बिताएका पौडेल कुशल प्राध्यापक, रणनीतिकार, अन्तर्राष्ट्रिय व्यापार, राजनीति र विकासविद् हुन् । त्रिभुवन विश्वविद्यालयबाट कानुन र शिक्षामा स्नातक र व्यवस्थापनमा स्नातकोत्तर गरेका पौडेल अमेरिकाको स्टेयर युनिभर्सिसिटी वासिङ्टन डिसीबाट व्यवस्थापनमा स्नातकोत्तर गरेर अनुभवी र पाका व्यक्तित्वका रुपमा सबैमाझ परिचित छन् ।
नेपालमा रहदा प्राध्यापक संघको तीन पटक केन्द्रीय प्रतिनिधि, पब्लिक कलेज संघ चितवनका सदस्य, प्राध्यापक संघ बालकुमारी कलेजको इकाई सभापति समेत भएका पौडेल प्रजातान्त्रिक विचार समाज, शान्ति समाज, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब, क्षयरोग निवारण संस्थालगायतका संघसंस्थासँग पनि आवद्ध थिए ।
कलेज प्रशासनिक जिम्मेवारीमा व्यवस्थापन संकायको प्रमुख भएर पाँच वर्षको कार्यकाल पूरा गरेका पौडेल नेपाली कांग्रेस भरतपुरका निर्वाचित कोषाध्यक्ष समेत भएर काम गरेको लामो अनुभव छ । यस पटक १२ जनाका लागि चार गुणा बढी प्रतिस्पर्धी चुनावी मैदानमा रहँदासमेत पौडेल भने आफ्नो सामाजिक कार्यमा बिताएको समय र दिएको योगदानका आधारमा निर्वाचित हुनेमा ढुक्क छन् ।
























