Breaking News

चितवन मेडिकल कलेजमा दुई घण्टा….

Banner

राजु चौधरी

चितवन, वैशाख २२–

पछिल्ला केहीदिन यता जसरी देशभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दो छ चितवनको अवस्था पनि उस्तै छ । एक साता अघि दैनिक एक सयको हाराहारीमा भेटिदै आएका संक्रमितको संख्या अहिले ठ्याक्कै दोब्बर भएको छ । मेडिकल सिटीको अबको रुपमा परिचित चितवनमा जति संक्रमित भेटिएपनि सहजै बिरामीले उपचार पाउनु पर्ने हो तर अवस्था त्यस्तो छैन । देशकै मध्यभागमा पर्ने भएकाले पनि यहाँ जिल्लाभित्रका बिरामी मात्र होइन टाँढा टाँढाबाट बिरामीहरु उपचारका लागि आउने गरेका छन् । त्यसैले बिरामीले अहिले सहजै उपचार पाउने अवस्था छैन ।

अहिले कतिपयले कोभिड–१९ लाई सामान्य रुपमा लिएका छन् । तर जसलाई पर्छ उसैलाई मात्र थाहा हुन्छ कोरोनाको पीडा । कोरोना सामान्य हो भन्दै हल्का रुपमा लिनेलाई अस्पतालमा देखिएका दृश्यले गिज्याउँछ । निजीस्तरको जिल्लाकै ठूलो अस्पताल चितवन मेडिकलमा अहिले सबैभन्दा धेरै कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ । यही मेडिकल कलेज अगाडि दुई घण्टा मात्रै उभिदा हृदयविदारक दृश्यहरु देखिए ।

बुधबार दिउँसो अस्पतालको कोभिड आइसीयू अगाडि आधा दर्जन बढी एम्बुलेन्सहरु लामवद्ध थिए । कुनै पनि एम्बुलेन्स खाली थिएनन् । सबैमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित गम्भिर प्रकृतिका बिरामी थिए । ती बिरामीहरुलाई अस्पतालको आइसीयू कक्षसम्म पुग्न झण्डै तीन घण्टासम्म लाग्यो । आइसीयू बेड सबै भरिएपछि बेडको पर्खाइमा बस्न बिरामीहरु बाध्य भए । रुपन्देहीबाट बिरामी लिएर आएको एउटा एम्बुलेन्स ठ्याक्कै तीन घण्टा गेट अगाडि नै रोकिनु पर्‍यो । एम्बुलेन्स चालकले नाम उल्लेख नगर्ने सर्तमा भने–‘विहान ठ्याक्कै ११ बजे अस्पताल आइपुगेका थियौं’ उनले घडी हेर्दै भने–‘अहिले २ः१५ भएछ बल्ल बिरामी भित्र पठाए ।’ उनले ल्याएका पुरुष संक्रमितको अवस्था गम्भिर थियो । अक्सिजनको सहायतामा उनलाई चितवनसम्म ल्याइएको थियो । उनी जस्तै अन्य थुप्रै संक्रमितहरु अस्पतालमा भर्ना हुने पर्खाइमा थिए ।

कोभिड आइसीयूको गेटको मुखैमा एक महिला संक्रमितको अवस्था पनि निकै दयनिय थियो । ती संक्रमित महिलालाई पनि अक्सिजनको सहायतामा स्टे«चरमा राखेर पालोको पर्खाइमा थिए उनका आफन्तहरु । त्यहाँ रहँदासम्म ती संक्रमितले भर्ना हुने पालोका पाएकी थिइनन् ।

उपचारका लागि बिरामीहरु एम्बुलेन्समा मात्र होइन, निजी सवारी साधनमा समेत अस्पताल पुग्ने गरेका छन् । एम्बुलेन्सहरुको भिडको बीचमा एउटा निजी कार पनि बिरामी लिएर अस्पताल पुगेको थियो । ती कारमा रहेका कोरोना संक्रमित पुरुषको अवस्था पनि जटिल थियो । तर अस्पतालमा बेड अभाव भएपछि ती संक्रमित पुरुषलाई पनि कारमै बसेर पर्खनुको विकल्प रहेन ।

दुई घण्टामा दुईको मृत्यु

पछिल्ला दिनमा यहाँ उपचाररत संक्रमितहरुको मृत्युदर पनि बढ्दो छ । दुई घण्टासम्म चितवन मेडिकल कलेज अगाडि उभिदा दुई जना कोरोना संक्रमितले ज्यान गुमाउन बाध्य भए । आइसीयूमा उपचाररत रुपन्देहीकी अन्दाजी ५० वर्षकी एक महिला र चितवनको भरतपुर महानगरपालिका–८ का अन्दाजी ६० वर्षका एक पुरुषको मृत्यु अस्पतालले जनाएको छ । यसरी हरेक दिन बिरामीको मृत्यु हुने संख्या बढ्दो गतिमा छ । बुधबार विहान मात्रै चितवन मेडिकल कलेजमा चार जना संक्रमितको मृत्यु भएको थियो ।

बेड पुर्‍याउनै हम्मे हम्मे

गम्भिर प्रकृतिका संक्रमितको संख्या ह्वात्तै बढेपछि जिल्लाका अस्पतालहरुमा बेड पुर्‍याउनै हम्मे हम्मे परिरहेको छ । नीजि क्षेत्रमा जिल्लाकै ठूलो अस्पताल चितवन मेडिकल कलेजमा अहिले यस्तै अवस्था सिर्जना भएको छ । जति बेड संख्या बढाएपछि अपुग भइरहेको छ । अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्साल भन्छन्–‘बिरामी आको आइ छन्, हामीलाई बेड संख्या थप्न नै हम्मे हम्मे परिरहेको छ ।’ उनले कोभिड आइसीयू देखाउँदै भने–‘हेर्नुस् न एम्बुलेन्सको लाम ।’ उनले यही गतिमा बिरामीको चाप बढ्दै गए उपचार गर्न नै कठिन अवस्था सिर्जना हुने बताए । बुधबारसम्ममा अस्पतालले कोभिडका लागि बेड संख्या १७९ पुर्‍याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>