Breaking News
चितवनमा खोप लगाउनेहरुलाई पनि भटाभट कोरोना संक्रमण, स्वास्थ्यकर्मीहरु गम्भीर अनुसन्धानमा

मधुसूदन दवाडी
चितवन, वैशाख २१-
चितवनमा कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका नागरिकहरुलाई पनि कोरोना संक्रमण देखिएको छ ।
चितवनका विभिन्न स्वास्थ्यकर्मीहरु, सुरक्षा अधिकारी, सरकारी कर्मचारी, पत्रकार, बैँकका कर्मचारीहरुलगायतलाई जनस्वास्थ्य कार्यालयको समन्वयमा कोरोनाविरुद्धको खोप लगाइएको थियो । तर, खोपको दुवै डोज लगाएकाहरुमा पनि निरन्तर कोरोना संक्रमण देखिएको स्वास्थ्यकर्मीहरुले नारायणी अनलाइनलाई बताएका छन् ।
दुवै डोज खोप लगाएका चितवनका प्रहरी प्रमुख ओमप्रसाद अधिकारी कोरोना संक्रमित भएर अहिले आइसोलेसनमा नै छन् भने बालरोग विशेषज्ञ डा विश्वबन्धु बगालेलाई पनि कोरोना संक्रमण भएको छ । यी घटनाहरु मात्र होइन अन्य दुवै डोज कोभिड सिल्ड लगाएका नागरिकहरुलाई पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले खोप लगाएकाहरुलाई पनि संक्रमण देखिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ हामी यसबारे अनुसन्धान गर्दै छौं । खोपले शत प्रतिशत कोरोना रोक्न त सक्दैन । लागिहाले पनि गम्भीर बिरामी पर्न दिँदैन भन्ने छ ।’ प्रमुख तिवारीले खोपलगाएकाहरुलाई कोरोना संक्रमण देखिएको बारे हामीले अनुसन्धान गरेर प्रतिवेदन सार्वजनिक गर्छौ ।
त्यसैगरी चितवन मेडिकल कलेजका सञ्चार संयोजक डा किशोर अधिकारीले कोरोनाको दुवै डोज खोप लगाएकाहरुलाई पनि चितवनमा कोरोना संक्रमण देखिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ दोस्रो डोज खोप लगाएको १० दिनपछि मात्र खोपले काम गर्न थाल्छ । यति जना भन्ने तथ्यांक त छैन तर हामीले यसबारे अनुसन्धान गर्दै छौं ।’ डाक्टर अधिकारीले मेडिकल कलेजमा दुवै डोज खोप लगाएका स्वास्थ्यकर्मीहरुलाई पनि कोरोना संक्रमण देखिएको बताए । चितवन मेडिकल कलेजमा अहिलेसम्म ३३३ जना स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भएका छन् । आजमात्र अस्पतालमा थप तीन जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ । दुवै डोज खोप लगाएका नागरिकहरुले पनि विशेष स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरुले अनुरोध गरेका छन् ।
























