Breaking News

चितवनका चार नाकामा प्रहरीको विशेष कडाइ, १४३ सवारीसाधनलाई जहाँबाट आएको त्यहीँ फर्काइयो

Banner

मनिका विश्वकर्मा

चितवन, वैशाख १९

जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरस रोकथामका लागि गत शुक्रबारदेखि १५ दिनको लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञासँगै चितवन प्रवेश गर्ने चार नाकामा प्रहरीले विशेष कडाइ गरेको छ ।

गैँडाकोट प्रहरी कार्यालयका इन्चार्ज सूर्य आचार्यका अनुसार नारायणगढमा गैँडाकोटका धेरै व्यक्तिहरुको व्यापार व्यवसाय गर्ने ठाउँ भएकोले गैंडाकोट नाकाबाट धेरै व्यापारी चितवन आउने गरेका छन् । गैँडाकोट प्रहरी कार्यालयले निषेधाज्ञा भएका जिल्लाहरुमा जाने व्यक्तिलाई कडाइ गरेको छ । समाचारका लागि हिडेका पत्रकार, खाद्यान्नको सरसामान, मालबाहक गाडी तथा अत्यवश्यक भएका सवारी साधन तथा व्यक्तिहरुलाई काठमाडौं प्रवेश गर्न दिइने आर्चायले नारायणी अनलाइनलाई जानकारी दिए ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयले चितवनबाट अन्य जिल्लामा जानेहरुलाई भन्दा चितवन प्रवेश गर्ने सवारीसाधन र व्यक्तिलाई कडाइ गरेको छ । कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी सरोज गिरीका अनुसार चितवनमा प्रवेश गर्नेलाई धेरै कडा निगरानी गरिएको छ । तोकिएको सवारीसाधनलाई भने नरोकिएको गिरीले जानकारी दिए । चितवनबाट अन्य जिल्लामा जाने सवारी साधनहरुलाई भने उनीहरुको समस्या हेरेर सहजीकरण गर्ने उनले बताए ।

लोथरदेखि मौवाखोलासम्मका चार वटा नाकाहरुमा चितवन ट्राफिक प्रहरी कार्यालयका करिब ३० जना प्रहरीहरु खटिएका छन् । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको समन्वयनमा प्रहरीहरु नाकामा खटिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख भगवानराज थापाका अनुसार अत्यावश्यक मालवाहक सवारीसाधनहरुलाई भने चितवनमा प्रवेश तथा बाहिरी जिल्लाहरुमा जान दिएको छ । धादिङको मौवा खोला, मुग्लिन, पुलचोक नारायणगढ र लोथर गरी चार नाकाहरुमा प्रहरीको कडा निगरानी रहेको थापाले बताए ।

चार नाकाबाट आज मात्रै १४६ वटा सवारीसाधनलाई जहाँबाट आएको त्यहीँ फर्काइदिएको थापाले जानकारी दिए । त्यस्तै निर्माण सामग्री बोकेको १३२ सवारीसाधनहरुलाई चार नाकाहरुमा होल्ड गरेर राखिएको छ । ती सवारीहरुलाई माथिबाट आदेश नआएसम्म बेलुकासम्म होल्ड नै गरेर राखिने उनले बताए । चारवटा नाकामा कारबाहीको लागि १८ वटा सवारीसाधनलाई नियन्त्रणमा राखिएको छ । तर स्वास्थ्यकर्मी, सरकारी कर्मचारीहरु, पत्रकारहरुलाई नाकामा सहजीकरण गरेर जानेआउने माहोल बनाइएको थापाले जानकारी दिए ।

चितवनमा निषेधाज्ञा गरेको दिनदेखि हालसम्म ९८ वटा सवारीसाधनलाई कारबाही गरिएको र जसबाट ४३ हजार ५०० राजश्व संकलन गरिएको छ । निषेधाज्ञासँगै चितवनबाट अन्य जिल्ला बाहिरिने संख्या उति नै रहेको पाइन्छ । चितवनको छिमेकी जिल्ला नवलपरासी पनि निषेधाज्ञा जारी नगरे पनि कोरोना रोकथामका लागि अलि कडा रुपमा प्रस्तुत भएको देखिन्छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>