Breaking News

चितवनका चार नाकामा प्रहरीको विशेष कडाइ, १४३ सवारीसाधनलाई जहाँबाट आएको त्यहीँ फर्काइयो

०
Banner

मनिका विश्वकर्मा

चितवन, वैशाख १९

जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरस रोकथामका लागि गत शुक्रबारदेखि १५ दिनको लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञासँगै चितवन प्रवेश गर्ने चार नाकामा प्रहरीले विशेष कडाइ गरेको छ ।

गैँडाकोट प्रहरी कार्यालयका इन्चार्ज सूर्य आचार्यका अनुसार नारायणगढमा गैँडाकोटका धेरै व्यक्तिहरुको व्यापार व्यवसाय गर्ने ठाउँ भएकोले गैंडाकोट नाकाबाट धेरै व्यापारी चितवन आउने गरेका छन् । गैँडाकोट प्रहरी कार्यालयले निषेधाज्ञा भएका जिल्लाहरुमा जाने व्यक्तिलाई कडाइ गरेको छ । समाचारका लागि हिडेका पत्रकार, खाद्यान्नको सरसामान, मालबाहक गाडी तथा अत्यवश्यक भएका सवारी साधन तथा व्यक्तिहरुलाई काठमाडौं प्रवेश गर्न दिइने आर्चायले नारायणी अनलाइनलाई जानकारी दिए ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयले चितवनबाट अन्य जिल्लामा जानेहरुलाई भन्दा चितवन प्रवेश गर्ने सवारीसाधन र व्यक्तिलाई कडाइ गरेको छ । कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी सरोज गिरीका अनुसार चितवनमा प्रवेश गर्नेलाई धेरै कडा निगरानी गरिएको छ । तोकिएको सवारीसाधनलाई भने नरोकिएको गिरीले जानकारी दिए । चितवनबाट अन्य जिल्लामा जाने सवारी साधनहरुलाई भने उनीहरुको समस्या हेरेर सहजीकरण गर्ने उनले बताए ।

लोथरदेखि मौवाखोलासम्मका चार वटा नाकाहरुमा चितवन ट्राफिक प्रहरी कार्यालयका करिब ३० जना प्रहरीहरु खटिएका छन् । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको समन्वयनमा प्रहरीहरु नाकामा खटिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख भगवानराज थापाका अनुसार अत्यावश्यक मालवाहक सवारीसाधनहरुलाई भने चितवनमा प्रवेश तथा बाहिरी जिल्लाहरुमा जान दिएको छ । धादिङको मौवा खोला, मुग्लिन, पुलचोक नारायणगढ र लोथर गरी चार नाकाहरुमा प्रहरीको कडा निगरानी रहेको थापाले बताए ।

चार नाकाबाट आज मात्रै १४६ वटा सवारीसाधनलाई जहाँबाट आएको त्यहीँ फर्काइदिएको थापाले जानकारी दिए । त्यस्तै निर्माण सामग्री बोकेको १३२ सवारीसाधनहरुलाई चार नाकाहरुमा होल्ड गरेर राखिएको छ । ती सवारीहरुलाई माथिबाट आदेश नआएसम्म बेलुकासम्म होल्ड नै गरेर राखिने उनले बताए । चारवटा नाकामा कारबाहीको लागि १८ वटा सवारीसाधनलाई नियन्त्रणमा राखिएको छ । तर स्वास्थ्यकर्मी, सरकारी कर्मचारीहरु, पत्रकारहरुलाई नाकामा सहजीकरण गरेर जानेआउने माहोल बनाइएको थापाले जानकारी दिए ।

चितवनमा निषेधाज्ञा गरेको दिनदेखि हालसम्म ९८ वटा सवारीसाधनलाई कारबाही गरिएको र जसबाट ४३ हजार ५०० राजश्व संकलन गरिएको छ । निषेधाज्ञासँगै चितवनबाट अन्य जिल्ला बाहिरिने संख्या उति नै रहेको पाइन्छ । चितवनको छिमेकी जिल्ला नवलपरासी पनि निषेधाज्ञा जारी नगरे पनि कोरोना रोकथामका लागि अलि कडा रुपमा प्रस्तुत भएको देखिन्छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>