Breaking News

कर्मचारीमाथि राजनीतिक दाउपेच: माडीका नयाँ अधिकृतलाई रोक्न नगरप्रमुख ढकाल सक्रिय

Banner

चितवन, वैशाख ९-

माडी नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीबाट हटेका अधिकृत पुष्पराज ढकालले मन्त्रालयको निर्देशन अवज्ञा गरेका छन् ।

निमित्त बनेका उनले प्रमुख प्रशासकिय अधिकृतको हैसियतमा विभिन्न गतिविधि र विज्ञप्ती निकाल्ने गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख ७ गते पत्र लेख्दै उनको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्ध गरिएको जनाएको छ । तर, उनले आज वैशाख ९ गतेको एक सूचनामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा हस्ताक्षर गरेका छन् । नारायणी अनलाइनसँग कुरा गर्दै उनले मन्त्रालयको पत्र आफूलाई प्राप्त नभएको बताए । उनले भने, ‘मैले पत्र पाएको छैन, मेरो इमेलमा पनि आएको छैन ।’ उनले पत्र प्राप्त नहुदासम्म र नयाँ प्रमुखले जिम्मेवारी नलिदासम्म आफू प्रमुख प्रशासकीय भएको जीकिर गरे ।

माडी नगरपालिकामा सरुवा भएका नयाँ प्रशासकीय अधिकृत अर्जुन गौतमलाई आउन नदिन नगरप्रमुख ठाकुर ढकाल स्वयम् सक्रिय छन । उनी राजनीतिक स्वार्थअनुसार अहिले काम गरिरहेका पुष्पराज ढकाललाई नै प्रमुख प्रशासकीय अधिकृतमा निरन्तरता दिन चाहन्छन् । पुष्पराज ढकाल यसअघि माडी नगरपालिकामा शिक्षा शाखा प्रमुख थिए । उनलाई ६ महिना अघि मात्र प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माडी नगरपालिकालाई पत्र लेख्दै ढकालको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्ध गरिएको जनाएको छ । वैशाख ७ गते मन्त्रालयका उपसचिव रुपनारायण खतिवडाले कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनलाई समेत बोधार्थ पत्र लेखी उपरोक्त बमोजिमका आर्थिक गतिविधि रोक्का गरिदिन अनुरोध गरेका छन् । तर, मन्त्रालयको निर्णय उलंघन गर्दै अधिकृत ढकालले प्रमुख प्रशासकीय भन्दै आज वैशाख ९ गतेको मितिमा आफ्नो हस्ताक्षर सहित सबै विद्यालयका लागि सार्वजनिक सूचना जारी गरे ।

यसअघि माडी नगरपालिकामा आउन लागेका प्रमुख प्रशासकीय अधिकृत उपसचिव अर्जुन गौतमलाई माडीका वडा नं. ५ वडाध्यक्षले हाजिर नगराउन भन्दै उपप्रमुख ताराकाजी महतोलाई धम्काएका थिए । प्रशासकीय प्रमुखका लागि मेयरले गाडी नपठाएपछि उपमेयरले गाडी पठाएको भन्दै उनले धम्काएको महतोले बताइन ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले भने आफूहरुले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन अवरोध नगरेको बताए । उनले भने, ‘मैले कुनै पनि कर्मचारीलाई काम गर्न नआउनुहोस् भन्दैन,अरुले गरेका गतिविधिबारे मलाई थाहा छैन ।’

प्रमुख प्रशासकीयको रुपमा आउन लागेका उपसचिव अर्जुन गौतमले नगरपालिकाबाट विभिन्न नाममा धम्की आउन थालेपछि आफू आउन नसकेको बताए । उनले भने, ‘कर्मचारीको मनोबल गिराउने गरी धम्की दिइयो, म जागिर माडी मात्र होइन अन्यत्र पनि खान सक्छु ।’ नगरपालिका आउने कर्मचारीलाई झन सहज बनाइदिनुपर्नेमा झन् आफ्नो भाग खान आएको जस्तो गतिविधि गर्नु दुःखद भएको बताए । रमना लिइसकेपछि नगरप्रमुख ढकालले नआउन भनेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>