Breaking News
चितवनको अयोध्याधाममा राखिने मूर्तिको प्रधानमन्त्री ओलीद्धारा विधिवत पुजाआजा

चितवन,बैशाख ७-
चितवनको माडीस्थिति अयोध्यापुरीमा प्रतिस्थापन गर्न लागिएको रामसीताको मूर्तिलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा विधिवत रुपमा पुजाआजा गरिएको छ । संस्कृति मन्त्रालयको संयोजनमा ती मूर्तिलाई प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी धर्मपत्नी राधिका शाक्यले पुजा गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यबहादुर थापाले बताउनुभयो । पुजासँगै सीताराम शोभा रथयात्राको आयोजना पनि गरिएको छ ।
माडीको अयोध्याधाममा निर्मित मन्दिरमा राख्नका लागि भव्य शोभायात्रा सहित प्रधानमन्त्री कार्यालयबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरु चितवन ल्याइदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी खर्चमा बनाईएका ती मूर्तिहरु आज प्रधानमन्त्रीले हस्तान्तरण गर्नुभएको हो । अयोध्याधाम व्यवस्थापन समितिका संयोजक तीर्थराज भुषालका अनुसार प्रधानमन्त्रीले हस्तान्तरण गरेपछि बग्गी, रथसहितको कलशयात्रा र करिब पाँच सय वटा सवारीसाधनसहितको शोभायात्रा चितवनका लागि प्रस्थान गरेको छ ।
नागढुंगाबाट बग्गी काठमाण्डौं फर्कने छ भने चार वटा गाडीमा चार वटा मूर्तिहरुसहितका गाडी चितवनका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । आज साँझ ४ देखि ५ बजेको समयमा दासढुंगामा शोभायात्रामा सहभागीहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार आज उक्त टोलीको खानपान र बासको व्यवस्था देवघाटमा नै रहने छ ।
भोलि चैत ८ गते बिहान देवघाटका विभिन्न पिठाधीशहरुको उपस्थितिमा पवित्र जलले जलाभिषेख गरी माडी तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उक्त शोभायात्रा पुनः दासढुंगाको बाटो हुँदै आँपटारी, पुल्चोक, लायन्सचोक, होकिमचोक हुँदै माडी जाने छ । माडीमा पुगेपछि परशुराम कुण्ठको जलले जलाभिषेक गरी अयोध्याधाममा मूर्तिहरु स्थापना गरिने प्रचारप्रसाार समितिका संयोजक श्री दवाडीले जानकारी दिनुभयो । दवाडीका अनुसार माडीमा हालै निर्माण गरिएको मन्दिरमा ती मूर्तिहरु राखिने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २९ गते भानु जयन्तीको अवसरमा भगवान रामको जन्म माडीको अयोध्यापुरीमा भएको बताउनुभएपछि उक्त क्षेत्रको अध्ययन, अनुसन्धान र विकासका काम अगाडि बढेका छन् । माडी नगरपालिकाले धाम व्यवस्थापनको लागि एक सय विगाहा जमिन दिने निर्णय गरिसकेको छ भने धामको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । धामको सम्पूर्ण निर्माण सम्पन्न गर्न करिब चार अर्ब रुपैयाँ खर्च लाग्ने जनाईएको छ ।

























