Breaking News
नयाँ सरकार गठन बारे छलफलमा जुट्दै माओवादी केन्द्र
काठमाडौं, वैशाख ६–
केपी ओली नेतृत्वको सरकार ढाल्नका लागि नेकपा (माओवादी केन्द्र)को बैठक बस्दै छ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समितिको बैठक बोलाइएको हो ।
बैठकमा नयाँ सरकार गठन र पार्टीको आगामी योजनाबारे छलफल हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । सोही विषयमा रहेर समर्थन फिर्ता र नयाँ सरकार गठनका लागि साझा गठबन्धनका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।
सर्वोच्च अदालतले नेकपा खारेज गरेर पुरानै पार्टी व्युताई दिएपछि एमाले नेतृत्वको सरकार अहिले कमजोर बनेको छ । तत्कालिन समयमा माओवादी केन्द्रको समर्थनमा केपी ओलीको नेतृत्वमा सरकार बनेको थियो । माओवादी केन्द्रले हाल आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाई सकेको छ भने पार्टी छाडेर ओली सरकारमा मन्त्री हुन पुगेका माओवादी नेताहरुलाई सांसद पदबाट कारवाही गरि सकेको छ ।
माओवादी केन्द्र अहिले नयाँ सरकारमा जोडबल गरिरहेको छ । आइतबार चितवन पुगेका प्रचण्डले छिट्टै नयाँ सरकार गठन हुन लागेको दावी गरेका थिए ।
























