Breaking News
रामबहादुर थापा ‘बादल’ गृहमन्त्रीमा पुनःनियुक्त, ३५ दिनभित्र रिक्त पदमा उपचुनाव हुने

काठमाडौँ, वैशाख ५-
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिसमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छन् ।
नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद् नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
गृहमन्त्री थापा आजै राष्ट्रियसभा सदस्यबाट मुक्त भएका थिए । कुनै पनि व्यक्ति सांसद पदमा नरहे पनि छ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन भएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको थियो ।
राष्ट्रियसभामा माओवादी केन्द्रका सचेतक दीनानाथ शर्माले उनलाई सांसदबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेस गरे बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज स्वीकृत गरेका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।
बादलको ठाउँमा ३५ दिनभित्र उपचुनाव हुने
एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ को राष्ट्रिय सभा सदस्य पद खारेज भएको छ । योसँगै रिक्त भएको स्थानमा ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ ।
राष्ट्रियसभा निर्वाचन ऐन २०७५ मा पदावधि ६ महिनाभन्दा बढी कायम रहँदा राष्ट्रिय सभा सदस्यको पद रिक्त हुन गएमा ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन आयोगले उपचुनाव गराउने उल्लेख छ ।
‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको पैतीस दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐन बमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नुपर्नेछ’ राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ६१ मा भनिएको छ ।
२३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए ।
उनी २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । उनी एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । सोही अनुसार आजै संसद सचिवालयले बादलको पद रिक्त भएको सूचना जारी गरेको छ।
























