चितवन विशेष
खानेपानी मन्त्रीद्धारा भरतपुरका विभिन्न आयोजनाको अवलोकन

भरतपुर,बैशाख ४-
खानेपानीमन्त्री मणिचन्द्र थापाले खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्नुभएको छ । उहाँले आज भरतपुर–११ मा रहेको जखडीमाई सहलगानी खानेपानी आयोजनाको अवलोकन गर्नुभएको हो । उहाँले आयोजनाअन्तर्गत ओभरहेड ट्याङ्की, डिपबोरिङ र पाइप लाइनको अवलोकन गर्नुभयो ।
भरतपुरमा रहेका खानेपानी आयोजनाबारे जानकारी लिँदै उहाँले तीव्ररूपमा काम गर्न निर्देशन दिनुभयो । सरकारले खानेपानीका आयोजनामा बजेटको अभाव हुन नदिने भन्दै उहाँले जनचाहनाअनुरूप काम गर्न आग्रह गर्नुभयो । मन्त्री थापालाई भरतपुर खानेपानी व्यवस्थापन बोर्डका काम र समस्याबारे कार्यकारी निर्देशक प्रजापति दाहालले जानकारी गराउनुभएको थियो । नेपाल सरकारले ७० प्रतिशत र भरतपुर खानेपानी व्यवस्थापन बोर्डले ३० प्रतिशत लगानीमा जखडीमाईमा खानेपानीका संरचना निर्माण भइरहेका छन् ।
यस्तै मन्त्री थापाले भरतपुरमा निर्माणाधीन गणेशधाम र देवघाट क्षेत्रको समेत अवलोकन गर्नुभयो । उहाँले देवघाट र गणेशधामको पूर्वाधार विकासमा समन्वायत्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । देवघाटमा खानेपानीको समस्या समाधानका लागि पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदीले निर्माणाधीन योजनाका बारेमा मन्त्री थापालाई जानकारी गराउनुभएको थियो ।
























