चितवन विशेष

अभिभावक सचेत नहुँदा बालबालिकामा क्लबफुटको समस्या जटिल बन्यो

Banner

चितवन, वैशाख ४-

उपचार भएपछि पनि क्लबफुट दोहोरिन सक्ने भएकाले सचेत हुन अभिभावकलाई चिकित्कसले आग्रह गरेका छन् ।

क्लबफुट समस्या देखिएको बच्चाले उपचारपछि निरन्तर जुत्ता (स्प्लीन्ट) प्रयोग गरेन भने क्लबफुट दोहोरिन सक्ने चिकित्सकले बताएका हुन् ।

क्लबफुटको समस्या जन्मजातदेखि नै खुट्टामा हुने गर्छ । बच्चाको सामान्य खुट्टामा आकार विकार बिग्रदै जाने र राम्रोसँग भूइँमा टेक्न नसक्ने समस्यालाई क्लबफुट भन्ने गरिन्छ । यस्तो समस्या प्रत्येक दुई हजार शिशुमा एक जनालाई देखिने चिकित्सकहरु बताउँछन् । तर, उपचार समयमै गर्ने हो भने निको हुने हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डा.गौरव न्यौपानेले बताए । विचार पु¥याउन सके बच्चाको जन्म लगत्तै क्लबफुट भए नभएको पत्ता लाग्छ । तर, कतिपय अभिभावकले ख्याल नगर्दा अपाङ्गता हुनुपरेको उनले बताए ।

क्लबफुटको उपचार पद्धति पनि सजिलो भएको उनले बताए । १० वर्षसम्मका बच्चालाई पोन्सेटी चिकित्सा पद्धतिबाट उपचार गर्न सकिने उनको भनाइ छ । सो भन्दा माथिको उमेरको बच्चाको उपचारलाई शल्यक्रिया नै गर्नुपर्ने बताए । पोन्सेटी चिकित्सा पद्धतिद्वारा श्रेणीबद्ध प्लास्टर लगाउँदा क्लबफुट सम्पूर्ण रुपमा सुधार भए पश्चात फेरी दोहोरिन सक्ने सम्भावना रहन्छ । त्यसैले सुरुको तीन महिना अनिवार्य दिनको २३ घण्टासम्म विशेष जुत्ता(स्प्लीन्ट) लगाउनुपर्ने डा. न्यौपानेले बताए । बल्जिए पछिको उपचार गर्न समस्या हुने भएकाले सम्पूर्णरुपमा सुधार भए पश्चात दोहोरिन नदिनका लागि विशेष ख्याल गर्नुपर्ने उनको भनाइ छ । क्लबफुटको समस्या भएका बालबालिकालाई उपचार पछि नियमित फिजियो थेरापीको आवश्यक पर्दछ ।

स्पिलिन्ट प्रयोग गरेको तीन महिना पछि अर्को तीन वर्षसम्म सुत्ने बेलामा अनिवार्य रुपमा विशेष जुत्ता लगाउनु पर्ने हुन्छ । तर, अभिभावकले ख्याल नगर्दा समस्या दोहोरिने गरेको चितवन मेडिकल कलेज पीसीएल कार्यक्रमका सहायक प्रधानाध्यापक मुकेश मल्लिकले बताए । उनले आफ्नो छोराको पनि क्लबफुट दोहोरिएको अनुभव साटे ।

‘मेरो छोरा क्लवफुट लिएर जन्मिएको थियो । आफू स्वास्थ्यकर्मी भएकाले समस्यालाई सामान्य नै लिएको थिएँ । त्यो समस्या सम्बन्धी ज्ञान मलाई थियो । १० दिनपछि उपचार थाले’ उनले भने, ‘मेरो पढाइका कारण १८ महिनापछि बच्चालाई छोड्नुपर्ने अवस्था आयो । घरमा अरुले बच्चालाई दुख्यो भन्ने मान्यताले जुत्ता लगाउन छोडिदिनुभयो । फलस्वरुप सुधार भइसकेको खुट्टाको समस्या फेरि दोहोरिएको छ ।’ उनले छोराको उपचार पुनः गराइरहेका छन् ।

क्लबफुट रोग छोरीमा भन्दा छोरामा बढी देखिन्छ । प्रत्येक तीन जना मध्ये दुई जना केटामा यो रोग देखा पर्ने गरेको मल्लिकले बताए । उनका अनुसार, उपचारमा आएका मध्ये ४० जनामा क्लबफुट रोग दोहरिने गरेको छ । यसका लागि अभिभावकहरु सचेत हुनु आवश्यक रहेको बताए । आफैलाई परेको समस्या अरु परिवारले पनि बेलैमा ख्याल राख्न सचेतनाको आवश्यकता महसुस गर्दै अष्ट्रेलियन एलमुनाइबाट प्राप्त ग्रान्टलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>