चितवन विशेष

पत्रकार महासंघमा निर्वाचित चितवनका तीन थारु पत्रकार सम्मानित

Banner

चितवन, वैशाख ३–

थारु पत्रकार संघ नेपाल, चितवन शाखाले हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा विभिन्न पदमा विजयी हुन सफल थारु पत्रकारहरुलाई सम्मान गरेको छ ।

शुक्रबार अपरान्ह थारु कल्याणकारिणी सभाको हल भरतपुरमा एक कार्यक्रमकाबीच नेपाल पत्रकार महासंघको केन्द्रीय परिषद्मा निर्वाचित थारु पत्रकार संघका केन्द्रीय महासचिव सन्तकुमार चौधरी, केन्द्रीय परिषद् सदस्यमै निर्वाचित संघका केन्द्रीय सदस्य राजु चौधरी र पत्रकार महासंघ चितवन शाखाको सदस्य पदमा निर्विरोध निर्वाचित सरिता चौधरी शाह (अपेक्षा)लाई सम्मान गरिएको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व न्यायधिश नन्दलाल महतो, ओएसिस मेडिकल कलेजका प्रमुख डा.मनोज कुमार चौधरी, थारु कल्याणकारिणी सभा चितवनका पूर्व सभापति विश्राम महतो र थारु पत्रकार संघ, नेपाल चितवन शाखाकी अध्यक्ष सुमित्रा महतोले अबिर, खादा र सम्मान पत्रले सम्मान गरेका थिए ।

सो क्रममा बोल्दै प्रमुख अतिथि पूर्व न्यायधिश नन्दलाल महतोले पत्रकार महासंघमा थारु पत्रकारहरुको उपस्थितिले गौरवको महसुस गरेको बताए । उनले आगामि दिनमा थारु पत्रकारहरुको संख्या बढाउँदै महत्वपूर्ण पदहरुमा पुगोस् भन्ने कामना गरे । उनले पत्रकार महासंघमा प्रतिनिधित्व गरेका तीनैजनालाई बधाई ज्ञापन गर्दै सक्रिय रुपमा पत्रकारितामा लाग्न हौसला प्रदान गरे । उनले चौथो शक्ति पत्रकारिता क्षेत्र भएकाले सदैव सोही अनुरुप भूमिका खेल्न आग्रह गरे ।

यस्तै कार्यक्रममा बोल्दै ओएसिस मेडिकल कलेज भरतपुरका प्रमुख डा.मनोज कुमार चौधरीले थारु पत्रकारहरुलाई अगाडि बढाउन आफू सदैव सहयोग गर्न तयार रहेको भन्दै समुदायको पीडा, व्यथालाई बाहिर ल्याउन थारु पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

त्यस्तै थारु कल्याणकारिणी सभा चितवनका पूर्व सभापति विश्राम महतोले थारु पत्रकारहरुको संख्या र प्रतिनिधित्व बढ्दै जानु गौरवको विषय रहेको भन्दै अझै युवा पुस्ताहरुलाई ल्याउन जरुरी रहेको बताए । उनले थारु समुदायका सत्य, तथ्य जानकारीहरु बाहिर ल्याउन थारु पत्रकारहरुको भूमिका महत्वपूर्ण रहँदै आइरहेको भन्दै चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको विक्रम बाबामा पूजा गर्न निकुञ्जले निषेध गरेको भन्दै यस बारे खबरदारी गर्न आवश्यक रहेको बताए । उनले परापूर्वकालदेखि नै थारु समुदायले पूजा गर्दै आइरहेको विक्रम बाबालाई यसपटक निकुञ्जले रोक लगाएकोमा आपत्ति जनाए ।

कार्यक्रममा थारु कल्याणकारिणी सभाकी पूर्व केन्द्रीय सदस्य एवंम थारु पत्रकार संघ, नेपाल चितवन शाखाकी सल्लाहकार चन्द कुमारी चौधरी, संघका निवर्तमान अध्यक्ष कारी महतो, युवा व्यवसायी एवंम होटल ह्याप्पी होमका संचालक कृष्ण महतो, थारु कलाकार सभा चितवनका अध्यक्ष सुरेश चौधरी, सम्मानित पत्रकारहरु सन्तकुमार चौधरी, राजु चौधरी, अपेक्षा चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम थारु पत्रकार संघ, नेपाल चितवन शाखाकी अध्यक्ष सुमित्रा महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>