Breaking News

नयाँ वर्षमा नारायणी नदी स्नान गर्न तिर्थालु्को भीड, वर्ष भरीको पाप पखालिने विश्वास

Banner

चितवन, वैशाख १-

नयाँ वर्षको पहिलो दिन आज बिहान देवघाटदेखि गोलाल घाटसम्म नारायणी नदी किनारमा स्नान गर्न तिर्थालुहरुको भीड लागेको छ ।

हिन्दू परम्परा र संस्कृति अनुसार नयाँ वर्षको पहिलो दिन नदीमा पूजा आराधना गर्दै स्नान गर्ने प्रचलन भएकोले पनि तिर्थालुहरुको भीड लागेको हो । आज बिहान सबेरैदेखि नारायणी नदीको दुवै किनारमा मानिसहरुको भीड लागेको थियो ।

चितवनको रत्ननगरदेखि नारायणीमा स्नान गर्न परिवारसहित आएका ६० वर्षीय कृष्ण भट्टराईले आफ्नो हिन्दू परम्पराअनुसार ग्रह काट्नको लागि स्नान र दान गर्न नदी किनारमा आएको बताए । उनले भने, ‘हिमालय पर्वतदेखि बगेका विभिन्न नदीहरु मिसिएर बगेको नारायणी नदीको आफ्नै धार्मिक महत्व रहेकोले पनि यहाँ आएर स्नान गर्दा बेग्लै आनन्दको अनुभूति हुन्छ ।’ उनले नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्पराअनुसार राम्रो ज्ञान दिनको लागि पनि नातीनातिनासँगै स्नान गर्न आएको विचार राखे ।

पण्डित शेखर शास्त्रीले वर्षभरी जानेर वा नजानेर गरेका कुनै पनि पाप कर्म पखाल्न पनि आज नदीमा गरिने स्नानको विशेष धार्मिक महत्व हुने नारायणी अनलाइनलाई बताए । उनले भने, ‘जल जीवन दाता हो । नयाँ वर्षको पहिलो दिन नदीमा गएर स्नान गरेर पाप पखाल्ने हिन्दू परम्परा छ । गोरखनाथका अनुयायीहरुलाई दान र दक्षिणा गरेमा पुण्य प्राप्त हुन्छ ।’

कालीगण्डकी, त्रिशूली, चेपे नदी, मस्र्याङ्दी, सेती जस्ता नदीहरु मिलेर नारायणी नदी बगेको भएकोले पनि हिन्दू धर्म शास्त्रमा नारायणी नदीको महत्व बढी देखिन्छ । कालीगण्डकी सबै भन्दा गहिरो गल्छी बनाएर बग्ने नदी हो  जुन देवघाटमा नारायणी नदीसँग मिल्छ । नदीले ठूलो मात्रामा कालो रङ्गको माटो बगाएर ल्याउने भएकाले यसलाई कालीगण्डकी नामाकरण गरिएको हुन सक्ने जानकारको भनाइ छ । हिन्दू धर्मका विष्णु भगवानको साक्षात् रूप मानिने शालिग्राम पाइने एकमात्र स्थानका रूपमा रहेको पण्डित शास्त्रीले बताए । मुक्तिनाथ र देवघाटजस्ता पवित्र धार्मिक तीर्थस्थललाई जोड्ने कालीगण्डकी नदीको धार्मिक र सांस्कृतिक मात्र नभई पर्यटकीय महत्वसमेत रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>