चितवन विशेष
भरतपुरको नारायणी बचतले २४ औँ वार्षिकोत्सव मनायो

चितवन, चैत ३०-
भरतपुर महानगरपालिका–५ नारायणपुरमा रहेको नारायणी बचत तथा ऋण सहकारीले २४ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको संस्थाका अध्यक्ष केशबबहादुर पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए । संस्थाका सञ्चालक समिति, उपसमिति र शेयर सदस्यहरुको सक्रिय सहभागिताका कारण संस्थाले सामाजिक गतिविधि गर्न सकेको अध्यक्ष केशबबहादुर पौडेलले बताए । संस्थाले आफ्नो गतिविधिलाई बढाउन र उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न सेवा विस्तार गर्ने योजनामा रहेको अध्यक्ष पौडेलले जानकारी गराए ।
कार्यक्रममा जिल्ला सहकारी संघ चितवनका अध्यक्ष हरिप्रसाद पौडेलले सहकारीलाई कसरी उत्पादनसँग जोड्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय बहस नै चलाउन आवश्यक रहेको भन्दै उनले प्रतिशत किटान गर्नुभन्दा पनि सबै सहकारीलाई क्षमताका आधारमा उत्पादनमा जोड्नुपर्ने
विचार राखे । उनले भर्खरै मात्र स्थापना भएका सहकारी संस्थालाई एकीकरण गरेर सेवा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले सहकारी सञ्चालनका लागि आन्तरिक र ब्याह्य स्रोत व्यवस्थापन गर्ने क्षमता राख्नुपर्नेमा जोड दिए ।
चार दिनसम्म सञ्चालन भएको कार्यक्रममा २७ गते मोटरसाइकल ¥याली, २८ गते बृहत् सरसफाइ कार्यक्रम, २९ गते रक्तदान कार्यक्रम गरिएको थियो भने आज नवर्निमित भवन उद्घाटन गरिएको छ । करिब १५ लाखको लागतमा आफ्नै जग्गामा नयाँ भवन निर्माण गरिएको कार्यक्रमका संयोजक हरिकृष्ण अधिकारीले जानकारी दिए ।
कार्यक्रममा १३ जना ज्येष्ठ नागरिकहरु तथा २६ जना संस्थाका संस्थापक सेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । करिब ११ सय बढी सेयर सदस्य रहेको सहकारीले विशेष छुटको व्यवस्थासहित नयाँ सदस्य थप गरेको छ । २०५४ सालमा स्थापना भएको सहकारीको करिब ११ करोडको कुल पूँजि रहेको छ ।
























