चितवन विशेष
चितवनका भट्ट बने लायन्सको गभर्नर

चितवन, चैत ३०-
भरतपुर महानगरपालिका वडा नम्बर २ निवासी रामप्रसाद भट्ट लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी टुका गभर्नरमा निर्वाचित भएका छन् ।
नेपालमा रहेका चार वटा डिस्ट्रिक्ट मध्येको बीटू सबैभन्दा ठूलो डिस्ट्रिक्ट हो ।
नेपालको काठमाडौं–वीरगञ्ज हुँदै सुदुरपश्चिम सम्मका झण्डै ५०० क्लब यो डिस्ट्रिक्टमा रहेका छन् । लायन्स क्लब अफ वागेश्वरीका पूर्वअध्यक्ष भट्ट शिक्षा, स्वास्थ्य, पर्यटनसहितका विभिन्न उद्योगमा आबद्ध छन् । नेपाल नेत्रज्योति संघ, क्यान्सर सेवा समाज, सुस्त मनस्थिति कल्याण संस्था, हृदयरोग निवारण जस्ता अग्रणी सामाजिक संस्थामा भट्टको योगदान छ ।
लायन्स यात्रामा २१ वर्षदेखि अनवरत रुपमा लागि रहेका भट्टले निर्वाचित भएसँगै सामाजिक यात्रामा थप शशक्त ढङ्गले अघि बढ्ने बताए । उनले भने, ‘लायन्स भिलेजको रुपमा गाउँगाउँमा सेवा विस्तारमा लाग्ने छु ।’ ‘हामी सेवा गर्छौ’ भन्ने सेवा भावका साथ आर्जन गरेको केही हिस्सा र आफूसँग भएको समयको व्यवस्थापन गर्दै समाज सेवामा जुट्ने उनको भनाइ छ । आफ्नो एक वर्षे कार्यकालमा स्थानीय सरकारसँग समन्वय गर्दै व्यवसायिक प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्ने भट्टले बताए ।
मधुमेह, बच्चाको क्यान्सर, आँखा, वातावरण संरक्षणलगायतका क्षेत्रमा विश्वभर लायन्सले काम गर्दै छ । त्यसै अभियानलाई नेपालमा पनि महत्वका साथ काम गरिने उनको भनाइ छ । फस्ट भाइस गभर्नर हुँदा भट्टले कोभिड–१९ रोकथाम अभियानमा अग्रणी भूमिका निर्वाह गरेको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बताए ।
नेपालमा लायन्सका ४५ हजार बढी सदस्य रहेका छन् । देशभरका क्लबलाई चार डिस्ट्रिक्टमा विभाजन गरिएको छ । डिस्ट्रिक्ट ३२५ बीटूका पूर्व डिष्ट्रिक्ट गभर्नर प्रभातकुमार जोशी र राजकुमार श्रेष्ठले यस क्षेत्रमा लायन्सकर्मीहरु उर्जाशिल भएकै कारण गभर्नर पाउन सकेको बताए । यसअघि जोशी, श्रेष्ठसँगैं चितवनका घनश्याम भट्टराई पनि यसै डिष्ट्रिक्टको गभर्नर भएका थिए ।
भट्ट जिल्लाको गभर्नर बन्ने चौथो व्यक्ति भएका छन् । भट्टको कार्यकाल आउदो जुलाईबाट सुरु हुने छ । उनले आफ्नो टिममा क्याबिनेट सेक्रेटरीमा प्रभाकर पण्डित र क्याबिनेट ट्रेजररमा नारायणप्रसाद शर्मालाई चयन गरेका छन् ।
























