Breaking News

कृष्णप्रसाद हत्या प्रकरणः चितवन अदालतको फैसला उच्च अदालतद्धारा सदर

Banner

चितवन, चैत २९–

उच्च अदालत पाटनको हेटौंडा इजलासले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या गरेको अभियोग लागेका सबैलाई सफाइ दिने जिल्ला अदालत चितवनको फैसला सदर गरेको छ ।

२०६१ सालमा कृष्णप्रसादको हत्या चितवनमा भएको थियो । तत्कालिन समयमा द्वन्द्वरत पार्टी माओवादीका कार्यकर्ताले अपहरणपछि उनको हत्या गरेको आरोप लाग्दै आएको छ ।

आफ्ना छोरा कृष्णप्रसादको हत्यामा गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेलसहित १२ जना संलग्न रहेको भन्दै गंगामाया र नन्दप्रसाद अधिकारीले जाहेरी दिनु भएको थियो । सोही जाहेरीका आधारमा प्रहरीले लगाएको मुद्दामा जिल्ला अदालत चितवनले साढे २ वर्षअघि सबै प्रतिवादीलाई सफाइ दिएको थियो । आइतबार उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतकै फैसला सदर गरेको उच्च सरकारी वकिल कार्यालय हेटौंडाका प्रमुख तथा सहन्यायाधीवक्ता सन्देश श्रेष्ठले जानकारी दिनुभयो ।

साढे २ वर्षअघि चितवन जिल्ला अदालतले प्रतिवादीहरूले अधिकारी हत्या गरेको भन्ने प्रमाण नपुगेको भन्दै सफाइ दिने फैसला गरेको थियो । घटनाका प्रतिवादी गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीले सफाइ पाएका हुन् ।

कृष्णप्रसादको २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो। प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमङ्लामा हजुरबुबा भेट्न आएका समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उहाँको हत्या भएको थियो । आफ्नो छोराको हत्यापछि जाहेरी दिन गंगामाया र नन्दप्रसादले लामो समय अनसन लगायतका संघर्ष गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>